काठमाडौँ-नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेपाल-भारत सम्बन्ध र नेपाली राष्ट्रवादसम्बन्धी अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन्। भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका बास्कोटाले उनको भनाइलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ भन्दै आलोचना गरेका हुन्।
नेता बास्कोटाले फेसबुकमा लेख्दै अर्थमन्त्री वाग्लेले भारत पुगेर नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्।’
अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने पुरानो भाष्य परिवर्तन हुँदै गएको धारणा व्यक्त गरेपछि बास्कोटा आक्रामक रूपमा प्रस्तुत भएका हुन्। बास्कोटाले उक्त धारणालाई राष्ट्रवाद, राष्ट्रिय हित, राजनीति, कूटनीति र इतिहासबारेको बौद्धिक कमजोरीका रूपमा व्याख्या गरेका छन्।
नेता बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो।’
हालै भारतको नयाँदिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले विगतमा नेपालमा ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो’ भन्ने भाष्य स्थापित गरिएको र नयाँ पुस्तामा त्यस्तो सोच परिवर्तन भइसकेको धारणा राखेका थिए।
वाग्लेको उक्त अभिव्यक्तिलाई लिएर एमाले नेता बास्कोटाले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका हुन्। यस घटनाले नेपाल–भारत सम्बन्ध, राष्ट्रवादको परिभाषा र राष्ट्रिय हितका विषयमा नेपाली राजनीतिक वृत्तमा देखिँदै आएको वैचारिक मतभेदलाई पुनः सतहमा ल्याएको छ।



प्रतिक्रिया