काठमाडौं-चीनको तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि प्रभावित क्षेत्रबाट १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ।
सिन्ह्वा समाचार एजेन्सीले स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै जनाएअनुसार बिहीबार राति तिब्बतको नाग्कु क्षेत्रअन्तर्गत बाचेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उक्त क्षेत्र तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा पर्छ।
भूकम्प १० किलोमिटरभन्दा कम गहिराइमा गएको जनाइएको छ। भूकम्पको केन्द्र तुलनात्मक रूपमा कम गहिराइमा रहेकाले त्यसको प्रभाव आसपासका क्षेत्रमा परेको हुन सक्ने बताइएको छ।
शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। भूकम्पपछि अधिकारीहरूले प्रभावित क्षेत्रलाई आपत्कालीन अवस्थाका रूपमा घोषणा गर्दै उद्धार टोली परिचालन गरेका छन्। उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या थप बढ्न सक्ने सम्भावना छ।



प्रतिक्रिया