अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्र पुनः लयमा : गभर्नर

अर्थतन्त्र पुनः लयमा : गभर्नर


विराटनगर- नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा फर्केको बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङको ४८औँ साधारण सभाको अवसरमा उहाँले विश्व अझै पनि सङ्घर्ष गरिरहेका बेला नेपालको अर्थतन्त्रले लय समातिसकेको बताउनुभएको हो । गभर्नर अधिकारीले मौद्रिक नीतिपछि मात्रै निजी क्षेत्रले १३ अर्ब रुपियाँ बराबरको ब्याज सहुलियत पाएको बताउँदै पुनर्कर्जा एक खर्ब हाराहारीमा पुगेको जानकारी दिनुभयो ।

नेपालको अर्थतन्त्रको ‘रिकभरी’ सन्तोषजनक अवस्थामा रहेको बताउँदै उहाँले निक्षेपभन्दा कर्जा प्रवाह बढी रहेको बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीले बैङ्कबाट ऋण लिएर उत्पादनका क्षेत्रका कम लगानी गर्ने गरेको समस्यालाई तत्काल हटाउन आवश्यकता औँल्याउनुभयो । आयातका लागि मात्रै ऋण गर्ने मान्यता नराख्न आग्रह गर्दै उत्पादनका क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैङ्कले नीतिगत धारणाका लागि छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतिलाल दुगडले निजी क्षेत्रलाई विगतको बजेटले समेट्न नसके पनि मौद्रिक नीतिले राहत दिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आगामी चैत मसान्तसम्ममा दस वर्षे अवधारणा अगाडि सार्ने महासङ्घको योजना रहेको जानकारी दिँदै करिब एक सय अर्बको अर्थतन्त्र र २२ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी दसवटा क्षेत्रमा गर्नुपर्ने सुधारका लागि एक सय सुझाव तयार गरिने बताउनुभयो ।