अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्ने काम हानिकारक थियो : वामदेव गौतम

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्ने काम हानिकारक थियो : वामदेव गौतम


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताउनुभएको छ ।

अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको आज शुुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुसी साथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड
दिनुभयो ।

सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विसं २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् । प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उहाँको भनाइ थियो ।

संयोजक गौतमले तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुलुकमा अस्थिरता सुरू भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्रीका विरुद्ध पार्टी विधानलाई बेवास्ता गर्दै अविश्वास प्रस्ताव राख्ने काम पनि गलत र हानिकारक थियो । अब त्यसलाई मित्रतापूर्णरूपमा आपसी समझदारी विकास गरेर पार्टीभित्र छलफल गरी समाधान गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सकारात्मक प्रयत्न गर्ने हो भने समाधान गर्न सकिने अवस्था पनि विकसित हुनसक्छ । यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।’

सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।