अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीएण्डसीले सम्बन्धन पाउनुपर्छ : दुर्गा प्रसाई

बीएण्डसीले सम्बन्धन पाउनुपर्छ : दुर्गा प्रसाई


काठमाडौं- झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ उपदफा ६ अनुसार तत्काल सम्बन्धन पाउनुपर्ने माग गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सो उपदफामा उपत्यका बाहिर सञ्चालन हुन चाहने मेडिकल कलेजलाई आयोगले सहमति दिन कुनै वाधा नपर्ने भन्दै बिएण्डसीले तत्काल सम्बन्धन पाउनुपर्ने माग गर्नुभएको हो ।

‘नियम कानुनअनुसार सबै प्रक्रिया पूरा भएको छ । संरचना पनि मापदण्ड अनुसार सबै छ तर किन सम्बन्धन नपाउने त ?,’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँले ऐनको सोदफाको उपदफा ६ मा उपत्यका बाहिर खोलिएका र मापदण्ड पुगेका शिक्षण संस्थाको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नरोकेको बताउनुभयो ।

‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि उक्त ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिइ मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले बाधा पुग्ने छैन,’ चिकित्सा शिक्षा ऐनको सो उपदफामा उल्लेख छ ।

 

प्रसाईले बिएण्डसी अस्पतालले मेची अञ्चलका ३२ लाख जनसंख्यालाई लाभ पुग्नेसमेत बताउनुभयो । उहाँले बीएण्डी पूर्वी नेपालको गौरव भएको समेत बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १८ गते अस्पतालको उद्घाटन गर्नुभएको थियो ।