अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टंक आङ्बुहाङको प्रश्न : म एमाले भइसके, माओवादीलाई किन स्पष्टिकरण दिनु?

टंक आङ्बुहाङको प्रश्न : म एमाले भइसके, माओवादीलाई किन स्पष्टिकरण दिनु?


काठमाडौं- ‘म एमाले भइसके, माओवादी केन्द्रलाई किन स्पष्टिकरण दिनु ?,’ प्रदेश-१ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रति प्रश्न गर्नुभयो ।

पार्टीलाई स्पष्टिकरण दिनुभयो कि भएन ? भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै आङ्बुहाङले भन्नुभयो, ‘म एमाले भइसके, अब माओवादी केन्द्रलाई स्पष्टिकरण दिन आवश्यक नै छैन ।’

सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । आङ्बुहाङले माओवादी केन्द्र छाडेर एमालेमै बस्ने घोषणा गरिसक्नु भएको छ । अर्थात् उहाँ एमाले भइसक्नुभएको छ । यही विषयमा माओवादीले उहाँलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन मंगलबार निर्देशन दिएको थियो ।

आङ्बुहाङले स्पष्टिकरण पत्रमा के थियो भनेर एकपटक नपढेको समेत बताउनुभयो । स्पष्टिकरण सोध्नु स्वभाविक प्रक्रिया भएको भन्दै उहाँले एमालेमै प्रवेश गर्नु नै स्पष्टिकरणको जवाफ भएको समेत बताउनुभयो ।

माओवादी केन्द्रले कारबाही गरेर आफूलाई केही फरक नपर्ने बताउँदै उहाँले प्रश्न गर्नुभयो, ‘एमाले भएर जिम्मेवारी लिइसकेपछि स्पष्टिकरण दिनुको अर्थ छ र ? लिखित रूपमा जवाफ दिन आवश्यक छैन, त्यसैले मैले जवाफ दिन्नँ ।’

जवाफ पठाउनुको कुनै अर्थ नभएको बताउँदै आङ्बुहाङले भन्नुभयो, ‘उहाँहरूले विधानको औपचारिकता निभाउनु भएको हो, त्यसैले जे गर्न मन छ त्यही गर्नुहुन्छ ।’