अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको दोस्रो लहर : विद्यालय, पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

कोरोनाको दोस्रो लहर : विद्यालय, पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि बढ्न थालेपछि सरकारले फेरि विद्यालय बन्द गर्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नका लागि सरकारलाई सिफारिससमेत गरिसकेको छ ।

भारतमा विकराल रूप लिइसकेको कोरोनाको दोस्रो लहर रोक्नका लागि विद्यालय बन्द गर्न सिसिएमसीलाई सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

‘पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा पनि बेलायतबाट फैलिएको नयाँ भेरियन्ट फेला परेको छ। बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस नेपालका विद्यार्थी र सर्वसाधारणमा फेला परिसकेको छ ।’

विद्यार्थीमा देखिएको नयाँ भेरियन्ट फैलिन नदिन विद्यालयहरु बन्द गर्नेतर्फ सरकारले तयारी गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । ‘नयाँ भेरियन्ट रोक्न स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसबारेमा थप निर्णय शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्‍मा छलफल गरेपछि लिइनेछ ।’

अहिलेको स्थितिमा विद्यालय बन्द गरेर अनलाइनबाटै पठनपाठन सञ्चालन गर्न आफूहरुले सिफारिस गरेको उहाँले बताउनुभयो । प्रवक्ता गौतमले नयाँ प्रकारको भाइरसले थप चुनौती दिँदै गएको पनि बताउनुभयो ।