काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा मंसिर १० गते बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष ओलीले प्रदेशसभा निर्वाचनलाई अगाडि सार्न नहुने धारणा राखेका हुन्।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्नुपर्ने बताए। ‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ अध्यक्ष ओलीले भने।
यद्यपि, दुवै तहको निर्वाचन एकैपटक गर्न सकिने विकल्प पनि अध्यक्ष ओलीले प्रस्तुत गरे। त्यसका लागि स्थानीय तहको निर्वाचनलाई पछि सारेर मंसिरमै दुवै निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो। ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौँ,’ उनले भने।
अध्यक्ष ओलीले आगामी निर्वाचन प्रतिनिधिसभा निर्वाचनजस्तो हुन नहुने भन्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ। अस्तिनको जस्तो हुँदैन,’ अध्यक्ष ओलीले भने।
सरकारले दुई तिहाइको समर्थन रहेको दाबी गर्दैमा मनपरी गर्न नपाउने ओलीको भनाइ थियो। उनले संसद्लाई छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति पनि आपत्ति जनाए।
‘यो सरकार दुई तिहाइको होइन, यो पनि बहुमतको सरकार हो। झन्डै दुई तिहाइ भन्नु, दुई तिहाइ भन्नु उस्तै होइन,’ ओलीले भने, ‘दुई तिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन। संसद् छल्ने, अध्यादेश ल्याउने होइन।’
अध्यक्ष ओलीले सरकारलाई संसदीय प्रक्रिया र लोकतान्त्रिक विधिअनुसार अघि बढ्नसमेत सचेत गराएका छन्।



प्रतिक्रिया