अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को वरीयता हेरफेर: सरकारका १७ मन्त्रीको नयाँ वरीयता यस्तो छ

मन्त्रिपरिषद्को वरीयता हेरफेर: सरकारका १७ मन्त्रीको नयाँ वरीयता यस्तो छ


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्दै मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको जनाएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको हो।

१७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। नयाँ मर्यादाक्रमअनुसार डा. स्वर्णिम वाग्ले दोस्रो, सोविता गौतम तेस्रो, शिशिर खनाल चौथो र विराजभक्त श्रेष्ठ पाँचौँ वरीयतामा छन्।

उनीहरूलाई क्रमशः अर्थ, कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि सातौँ वरीयतामा रहेकी सोविता गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा पुगेकी छन्।

त्यसैगरी छैटौँ वरीयतामा रहेका सुधन गुरुङलाई गृह, सातौँ वरीयताका सुनिल लम्साललाई पूर्वाधार विकास तथा आठौँ वरीयताका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नयाँ व्यवस्थाअनुसार सीता बादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी खडकराज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति तथा रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यससँगै प्रधानमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम र मन्त्रालयगत जिम्मेवारी निर्धारण भएको छ।