अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्याब्सनले भन्याे : विद्यालय बन्द गर्न हुँदैन

प्याब्सनले भन्याे : विद्यालय बन्द गर्न हुँदैन


काठमाडौं- के अब लकडाउन हुन्छ? विद्यालय बन्द हुन्छ? अहिले सर्वत्र र सर्वाधिक सोधिने यी दुई प्रश्नको जवाफ प्याब्सनले दिएको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सनको भनाइ छ- विद्यालय बन्द गर्न हुँदैन ।

विद्यालय बन्द गरेर कोरोना महामारी रोक्न नसकिने भन्दै प्याब्सनले बन्द नगर्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमण जोखिन न्यूनिकरण गर्न निर्देशिका जारी गर्न सरकारलाई सिफारिस गरेको छ । केन्द्रको ११ बुँदे सिफारिसमा विद्यालय कम्तीमा तीन हप्ता बन्द गर्न भनिएको छ ।

विश्वव्यापी कोरोना महामारी नेपालमा दोस्रो चरण सुरू भएको छ । नेपालमा नयाँ भेरियेन्टका कोरोना भाइरस देखिएको छ । नयाँ भेरियेन्टको भाइरस बालबालिका तथा युवामा अत्याधिक देखिएको, विद्यालयहरू कोभिड-१९ को बाहक भएको भन्दै बन्दका लागि सिफारिस गरिएको हो ।

नयाँ भेरियेन्टका भाइरस बढी जोखिमपूर्ण भएकाले बढी सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य विज्ञहरूले सुझाउँदै आएका छन् ।

सीसीएमसीले विद्यालय बन्दको सिफारिस गरेलगत्तै प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न सरकारसँग अपिल गर्नुभएको हो ।

विद्यालय बन्द गरेर संक्रमण फैलन रोक्न सकिँदैन- विज्ञप्तिमा लेखिएको छ ।

विगतको लकडाउनले शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएकाले अब बन्दको विकल्प खोज्नुपर्ने प्याब्सनको भनाइ छ । बन्द गर्नै परे प्रभावित क्षेत्रका विद्यालय मात्र बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

विद्यालय सञ्चालनका लागि सरकारले सहजीकरण गर्नुपर्ने प्याब्सनको माग छ ।