अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन : प्रदेश प्रमुख पौडेल

सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन : प्रदेश प्रमुख पौडेल


पोखरा- गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ ।

सातौं अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्वमा जोड दिनुभएको छ ।

योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पुर्‍याउने जनाउँदै सन्देशमा भनिएको छ, ‘योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र प्रकृतिसँग सम्बन्धित छ, चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन ।’

पुर्खाबाट खोज, अनुसन्धान र अभ्यास भइआएका योग र ध्यान साधनालाई नयाँ पुस्ताले पनि अनुसरण गर्न सके ठूलाठूला रोग र महाव्याधिबाट छुट्कारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने सन्देशमा जनाइएको छ ।

सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेका वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता औँल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतीत गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।

प्रदेश प्रमुख पौडेलले आज नै परेको संगीत दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनसहित स्वस्थ जीवन व्यतीत गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गर्नुभएको छ ।

सन् २०१५ देखि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइन्छ ।