अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तान राजनीतिक संकटबारे अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

अफगानिस्तान राजनीतिक संकटबारे अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता


लन्डन– अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ ।

उहाँहरूबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उहाँहरूकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो ।

सो क्रममा उहाँहरूले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिनुभएको थियो ।

उहाँहरूले फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ ।

आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ ।

उहाँहरूले अफगानिस्तानबाट बाहिरन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरुपमा सहायता प्रदान गर्ने बताउनुभएको थियो ।

त्यसैगरी, आगामी दिनमा अफगानिस्तानमा आउनसक्ने मानवीय सङ्कटको समााधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उहाँहरुले बताउनुभएको सो समाचारमा जनाइएको छ ।