अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जब घरको आँगनमा झरही खोला बग्यो

जब घरको आँगनमा झरही खोला बग्यो


२०७८/०५/११ शुक्रबार

अत्याधिक वर्षाले आज रातभरी निद्रा परेको थिएन । छटपटीमै रात बित्यो । नजिकै रहेको मेरो माइतीघर बाटोको सतह भन्दा होचो थियो । त्यसैले त्यहाँ बाढी पस्ने निश्चित थियो । बाबा ममीलाई कति दुःख दियो यो पानीले भन्ने लागिरह्यो । यही कुरा मनमा खेलेको थियो । बिहानको चार बजे भान्जाको फोन आयो । ‘माइजु पानीले एक तले घरको सतह पूरै डुवायो’ भान्जाको यो फोन सुनेपछि मेरो आत्मबल एक्कासी बढ्यो । ‘भान्जा म लिन आउँ ।’ भान्जाले ‘झरही खोला खोला रोडमा बगेको छ । कसरी आउने होला भन्नु भयो ।’ म जर्याक जुरुक उठें । बरन्डाबाट देखें । गेट बाहिर कम्पाउन्डवाल भन्दा माथिबाट भेल होइन खोला बगिरहेको छ । फेरि त्यसको बेग नारायण र त्रिशुली जस्तो ।

कहिले नदेखेको यो दृष्य देखेपछि डर लाग्यो । भित्र छिरे ल्यापटप मनिटर र प्रिन्टर पलङ माथि थन्क्याएँ । चामल गहुँ लगायत खाद्यान्नको बोरा उचालेर पार लगाउने कुरा सोच्न नपाउँदै करिब पाँच मिनेटमा घर भरी ३ फिट पानी भयो । मेरो एकतले घर पूरै डुब्यो । पानीको बगाई स्पिडको थियो कि घर भित्रै बगाउला र लडाउला भन्ने डर भयो । घरमा श्रीमान/श्रीमती मात्र थियौं । ज्यान जोगाउन घरको छतमा गयौं । आकाशबाट मुसलधारे पानीको बेग उस्तै थियो । भर्‍याङको रेलिङमा भिजेको शरीर, डराएको मन, धिक्कारेको भाग्य र बगिरहेको सम्पत्ति लिएर कयौं घन्टा बस्यौं हामी । शरीर फतक्क गल्यो । सुत्न पाए नि हुने भन्ने भयो तर तातो त के भिजेको लुगा पनि नसिबमा थिएन । चिसो सानो टबेल लिएर गहुँको सिरानी लिएर बिहान बितायौं । पानी घट्ने कुनै लक्षण थिएन ।

बिहानको १० बज्यो । रातभरीको बाढीका असरहरु अब देखिन थालेका थिए । मोबाइलमा व्याट्री थिएन । फोन, इन्टरनेट पानी बिजुली केही हुने कुरै भएन । पैसा थियो केहि काम थिएन । स्कुटीको डिकीमा रहेको मेरो पर्सको याद आयो । स्कुटी पुरै डुबेको, डिकी खुलेको र घरको कम्पाउन्ड भत्केको अवस्था थियो । डिकीमा भएको ब्याग बगाउला भनेर भुइँमा झरें । घाँटीसम्म पानी जेनतेन स्कुटीसम्म पुगें । ब्याग लिए । फर्किदा सतहमा रहेको माटोमा चिप्लिए र करीब  ५५ फुट अगाडि गेटसम्म बगें म । भाग्यवश गेट बन्द थियो । त्यहीं अड्किए । हारगुहार त गरे‌ं । तर मलाई उद्दार गर्न आउन सक्ने अवस्थामा मेरा छिमेकीहरु थिएनन् । होस हवास उड्यो । बल्ल बल्ल उठें । छतबाट टुलुटुलु पानीमा भिज्दै म बगेको हेरिरहनु भएका मेरा बुढालाई देखें । उहाँको मलिन मुहार देखेपछि म मा फेी अर्को हौसला र आत्मविश्वास जाग्यो । परासीको सुरक्षित क्षेत्र भनिएको मेरो घर भएको ठाउँको आफ्नै आँगनमा समुद्रसरीको बाढीमा बगेर आफ्नै ज्यान जोखिममा पर्ला भनेर मैले कहिले चिताको थिइन् । तर त्यही कुरा आज म भोग्दै थिएँ ।

जेनतेन बाढीसँग बचेर फेरि भर्‍याङमा गएर बसें । जाने ठाउँ नै कहा थियो र ? दर्केझरी गुँड भत्काइदिएका जोडी ढुकुर जस्तो हामी बुढाबुढी भर्‍याङमा ओतिएर जीन्दगीका बाँकी सपनाहरुको हिसाब किताब गर्दै थियौं ।

परासीको सुरक्षित क्षेत्र भनिएको मेरो घर भएको ठाउँको आफ्नै आँगनमा समुद्रसरीको बाढीमा बगेर आफ्नै ज्यान जोखिममा पर्ला भनेर मैले कहिले चिताको थिइन् । तर त्यही कुरा आज म भोग्दै थिएँ ।

 

बिहानको ११ बज्यो । सारै भोक लाग्यो । घरमा पसेर केही खानेकुरा खोज्ने हिम्मत नै भएन । एकपटक मेरो बगेर सातो गएको थियो । पारी घरमा हेरें । साथी सुमित्राले केही खानेकुरा खाइरहेको देखें । मैले इशाराले के खाको भनेर सोधें । उसले चिया भनी । मलाई लाग्यो यो भिषण नदी पार गर्न पाए त म पनि चिया पिउन पाउँथे । मैले भने म नि खान्छु । उसले कालो चिया खाने भनी । मलाई त्यो बेला कसैले जहर दिए पनि खान्थें भन्ने भएको थियो । चियाको तलतलमा म छतबाट फेरि अघिको बाढीमा हेलिन झरें । बुढाले नजाँ बगाउछ भन्दा पनि म मानिनँ । जसोतसो बाढी पर गरेर सुमित्राकोमा चिया चिउरा खाएँ । तर पिएको चिया भन्दा मेरा आँसु बढी खसे ।

सुमित्राले भात बनाउँछु भनी । टाउको हल्लाएँ । नुन भात भए नि हुन्छ भन्ने लाग्यो । उसले मिठो खाना खुवाइ । डुब्न त उ पनि पूरै डुबेकी थिइ तर किचन माथिल्लो तलामा भएकोले सबै सामान डुब्न पाएन । रातभरीको बाढी,माइतीघरको होचो भूभाग । बाबा ममीको एकदम धेरै भएको थियो । आफु त पुरै डुबेकी थिएँ । दिउसोको १२ बज्यो पानीको सतह अझै घटेन । तर मेरो मातृ मोह झन् बढ्यो मेरा बा आमा के खाएँ के गरे के भयो होला भन्ने हुटहुटी भयो । म त्यो पानीमा हेलिंदै हेलिंदै ३०० मिटर बाटो १ घन्टामा पार गरें । ममी माथिल्लो तलामा सुकिलो लुगामा खाना खाएर बसेको देखेंं । ममीसँग बसेर रातभरीको बाढीको बितण्डा र मलाई बगाएको कुरा रुदैं रुदैं सुनाएँ ।

केहीबेरमा अर्को एक घण्टा पानीमा हेलिएर अघिकै बाटो फर्कें । घर भित्र छिरें । घरको सामान, फर्निचर इलेक्ट्रोनिक आइटम सबै पानीमा तैरिरहेको देखें । मानौ यस्तो थियो कि कसैले ढोका खोलिदिए हामी बाहिर जान्थ्यौं भनेर तयारी अवस्थामा थिए । भित्र पसेर केही हेर्न सकिन । बाहिर बसेर टोलाईरहें । दिउँसोको तीन बज्यो । कहाँबाट काम शुरु गराैं कसरी भित्र जाउँ । केही काम गरेन दिमागले । पानी पर्ने क्रम बिस्तारै रोकिंदै थियो । बाढी घट्ला जस्तो हुँदै थियो । तर बाढीले गरेकोे बिखेतको विद्रुप बिस्तारै बिस्तारै आाखा अगाडि देखिदै थियो । गेटमा सुमा र बिन्दु आए उनीहरु मेरो घरको फोटो देखेर दिज्जुको के हालत होला भनेर आए । मलाई भगवान आए जस्तो भयो । पानीले छोड्दै गएका घरका कोठमा जे जे देख्यो तेही सर्वनास छ । मन मुटु पोलेको थियो । आँसु आँखाबाट होइन मनबाट आइरहेको थियो । बेलुका भयो साइँलो काकीको घरमा गए उतै खाए उतै सुते ।

यहाँका जनप्रतिनिधि मेयर, उपमेयर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सबै नेपाली कांग्रेसका हुनुहुन्छ । सबैलाई चुनावमा दुःख गरेर जिताएको हामीले । म पनि नेपाली कांग्रेसको मतदाता हुँ । तर दुःखको कुरा उहाँहरु कसैले पनि सान्त्वनाको एक शब्द पनि खर्चिनु भएन ।

भदौ १२
घरमा आए यता पनि रित्तो उता पनि रित्तो थियो । हिजोसम्मको हराभरा मेरो घर आज खण्डहर थियो । विपत्तीमा मान्छेहरु भन्थे ज्यान बचे केही चाहिंदैन । तर होइन रहेछ, ज्यानसँग जीन्दगीमा एकै चोटी धेरै कुरा चाहिने रहेछन् । केवल ज्यान जोगिएर मात्र हुने रहेनछन् । जुन कुरा आफैंले भोगियो ।

भैरहवाबाट, काठमाडाैंबाट छोराहरु, भूमही र बासाबाट मेरा साथीहरु आए । घरको अवस्था देखेर सबै विक्षिप्त भए । सबै मिलेर १२/१३ घन्टाको प्रयासमा बाढीले मेरो आगनमा छोडेको माटो फाल्न सकियो ।

भदौ १३
धेरैजना साथीहरु आए । घर पूरै धोइ पखाली गरियो । सामान बाहिर राखियो । सबै सामान धोइयो । काम लाग्ने राखियो १० % जति फालियो । दिउँसो गाडी लिन मान्छे आए । शो रुम बाट टोचन लगाएर गाडी तान्ने बेला सारै आँसु आयो । आफुलाई भन्दा माया गाडीको लाग्थ्यो तर जतन मैले गरे, धोका प्रकृतिले दियो ।

भदौ १४
आज बजारतिर निस्किएँ । सबैको उही बिजोग देखें । सबैको कपडा छतभरी छन् । घाम लाग्ला र सुक्ला भन्ने आशमा । तर प्रकृतिले घामलाई अझै केही दिन लुकाउने नै छाँट देखाएको थियो । बाढीमा डुबेकी मलाई सान्त्वना दिनका लागि लगभग २ हजार वटा कल ५ सय जना साथीहरु घरमा आउनुभयो । उहाँहरु सबैप्रति म आभारी छु । विपत्तिमा म मात्र एक्ली रहिनछु जस्तो लाग्यो ।

यहाँका जनप्रतिनिधि मेयर, उपमेयर प्रतिनिधीसभा र प्रदेशसभा सदस्य सबै नेपाली कांग्रेसका हुनुहुन्छ । सबैलाई चुनावमा दुःख गरेर जिताएको हामीले । म पनि नेपाली कांग्रेसको मतदाता हुँ । तर दुःखको कुरा उहाँहरु कसैले पनि सान्त्वनाको एक शब्द पनि खर्चिनु भएन । उपमेयर रम्भा कुँवर आउनुभयो । स्मरण रहोस्, नेताज्यूहरु प्रभा ज्ञवालीले जीवनमा व्यक्तिगत स्वार्थको लागि सहयोग माग्ने छैन । यहाँ सान्त्वनाको कुरा थियो । नेता अभिभावक सरह हुन्छन् भन्ने आशा लागेको थियो तर वास्तविकता त्यस्तो हुँदो रहेनछ ।

भदौ १५
सबै साथी, आफन्त र प्यारा मान्छेको सहयोगले आत्मबल दरो गराए । सबै काम सकेर आजदेखि अफिस पनि गएँ । त्यहाको पनि अवस्था उस्तै थियो । अफिसमा भिजेर काम नलाग्ने भएका फाल्ने सामान फाले । किन्ने सामानलाई सबै जोहो गरी किन्ने छु । मानसिक रुपमै ग्रस्त बनाएको त्यो पिडा बिस्तारै पखालिदै छ । समय लाग्ला तर केहि दिनमा म उही पुरानै प्रभा भएर आउने छु ।

बाढीका यी छ दिन जे जे भोगे ति विसर्नलायक छन् । तर आफैंले भोगेको त्यस्तो विपत्ती कसरी विर्सन सकिन्छ र ? अब कहिले कसैले यो बिपति भोग्न नपरोस प्रकृति तिमी यति निर्दयी नबन । सँगै एउटा कुरा थप्न पनि मन लागेको छ । प्रकृतिलाई मानिसले आफ्नै लयमा हिड्न दिनु पर्दछ । विकासका नाममा जथाभावी र सडक र अन्य संरचना बनाउदा खोला र नदीको बहाव बिथोलिन्छ । जसले गर्दा ठाउँ कुठाउँ यस्ता विपत्ति आइदिन्छन् । विकासका नाममा सस्तो लोकप्रियताका लागि वातावरण खल्बल्याउने र प्रकृतिलाई धुलिसात पार्नेतिर नीति निर्माणमा बसेकाहरु कोही पनि नलाग्नुहोला ।