अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्: अध्यक्ष ढकाल

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्: अध्यक्ष ढकाल


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ।

आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताउनुभयो।

विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउनुभयो।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने बताउनुभयो।

उहाँले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताउनुभयो।

अध्यक्ष ढकालले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताउनुभयो।