अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा बनेको नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड

अमेरिकामा बनेको नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड


काठमाडौं – नेपाली सिनेकर्मीहरुले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित मध्येको एक फिल्म अवार्ड जितेको छ । नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर अभिनित ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।

सौरमराज तुलाधर सहित अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरुले बनाएको ‘घर आउ’ फिल्मले दादा साहेब फाल्केले थालनी गरेको आशा फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड जितेको हो । आशा इन्टरनेशनल फिल्म अवार्ड बलिउडका लिजेन्ड कलाकार दादा साहेब फाल्केले थालनी गरेका थिए । फाल्केको नाममा भारतको सर्वाधिक उच्च फिल्म पुरस्कार स्थापित छ भने उनले थालेको फिल्म फेष्टिभलमा अवार्ड जित्नु हलिउडका कलाकारहरुको समेत चाहना हुने गरेको छ ।

सौरमराज केही वर्षदेखि अमेरिकामा छन् । न्यूयोर्क फिल्म एकेडेमीमा पढाई पूरा गरेर उनले अमेरिकामा मोडलिङ, म्युजिक भिडियो तथा फिल्महरु गरिरहेका छन् । अमेरिकामा मोडलिङ गर्ने थोरै नेपालीमध्ये सौरमराज पनि हुन् । नेपाली फिल्म जिन्दगी रक्सबाट डेब्यु गरेका सौरमराजले तीनसय भन्दा धेरै म्युजिक भिडियो तथा कैयन आर्ट फिल्ममा अभिनय गरेका छन् ।

‘घर आउलाई हामीले विभिन्न फिल्म फेष्टिभलमा सहभागी बनायौं, विभिन्न अवार्ड पनि जित्यौं । तर, आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा सहभागिताका लागि छनौट हुनु नै हाम्रा लागि ठूलो कुरा थियो’– सौरमराजले फोन सम्पर्कमा भने– ‘दादा साहेब फाल्केले थाल्नुभएको फिल्म फेष्टिभलमा वेष्ट फिल्म अवार्ड हाम्रा लागि ठूलो उपलब्धी हो’– सौरमराजले भने ।

घर आउ फिल्ममा कोभिड कालमा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको कथा छ । छोराको भूमिका सौरमराज र आमाको भूमिका उमादेवी विश्वकर्माले निर्वाह गरेकी छिन् । उमादेवीले पनि घर आउबाट नेपाली सिने जगतमा डेब्यु गरेकी हुन् । फिल्म निर्माता बाँस्कोटा प्रडक्सन हो । बाँस्कोटा प्रडक्सनबाट कीर्तना बाँस्कोटाले अन्य केही सर्ट फिल्म बनाइसकेकी छिन् ।

‘घर आउ’ विश्वका अन्य विभिन्न चर्चित र प्रतिष्ठित फिल्म फेष्टिभलमा आगामी दिनमा देखिने भएको छ । ‘विश्वका उत्कृष्ट फिल्म फेष्टिभलमा घर आउ छनौट भइसकेको छ र आगामी दिनमा कैयन फेष्टिभलमा घर आउले सहभागिता जनाउँदैछ’– कीर्तनाले भनिन् ।
बाहिर विश्वमा चर्चित बने पनि ‘घर आउ’ नेपाली दर्शकले भने देख्न पाएका छैनन् । यो फिल्म नेपाली दर्शक सामु आउन अरु केही समय लाग्ने सौरमराजले जानकारी दिए ।