काठमाडौँ-आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने देखिएको हो।
महाशाखाका अनुसार शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
महाशाखाले आगामी तीन दिन र कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।



प्रतिक्रिया