अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालीको कथामा बनेको डकुमेन्ट्री नेटफ्लिक्समा आउने

नेपालीको कथामा बनेको डकुमेन्ट्री नेटफ्लिक्समा आउने


काठमाडौं – पछिल्लो केही समययता ओटीटीको लोकप्रियता बढेसँगै नेपाली फिल्म त्यहाँ कहिले हेर्न पाइएला भन्ने चर्चा हुने गरेको छ । विश्व फिल्मका कथालाई आफ्नो माध्यमबाट डिजिटल प्लेटफर्ममा ल्याइरहेको ओटीटीले नेपाली फिल्ममा भने अझै लगानी गरेको छैन, न त नेपाली फिल्म नै राखेको छ । ओटीटी जायन्ट नेटफ्लिक्ससम्म नेपाली फिल्म पुर्‍याउन राम्रै प्रयास भइरहेका छन् । तर, त्यसले अझै सार्थकता पाएको छैन । यद्यपि नेपालीको कथामा बनेको एक डकुमेन्ट्री भने नेटफ्लिक्समा हेर्न पाइने भएको छ ।

हिमाल आरोही निर्मल पूजाको आरोहणको विषयमा बनेको डकुमेन्ट्री ‘१४ पिक्स स् नोथिंग इज इम्पोसिबल’ २९ नोभेम्बरमा रिलिज गर्ने घोषणा नेटफ्लिक्सले गरेको छ । फिल्म विश्वका १९१ देशमा रिलिज हुने र ३१ भाषामा अनुवाद हुने निर्मल पूर्जाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

सात महिनाको अवधिमा ८ हजारभन्दा धेरै उचाइका १४ वटा हिमाल आरोहण गरेको पूर्जाको हिमालको कथा डकुमेन्ट्रीमा समेटिएको छ । निर्मल पूर्जाले सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमालको आरोहण गर्दै ७ महिने चुनौतीको सुरुवात गरेका थिए । सोही वर्षको मे २२ मा उनले सगरमाथाको आरोहण गरेका थिए । ‘म मानिसहरुलाई ठूला पर्वतप्रतिको माया दर्शाउन प्रेरित गर्न चाहन्थेँ,’ पूर्जा लेख्छन्, ‘तपाईंले कुनै पनि लक्ष्य हासिल गर्ने दृढ लक्ष्य तय गर्नुभयो भने तपाईंलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’

ब्रिटिस आर्मीसमेत रहेका निर्मल पूर्जाका ४८ घन्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेको रेकर्ड छ । पूर्जाका नाममा जाडोयाममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ । डकुमेन्ट्रीलाई टोरक्विल जोन्सले निर्देशन गरेका हुन् ।