अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनद्वारा बाढीपीडितका लागि ३३ करोडभन्दा बढी सहयोग हस्तान्तरण

चीनद्वारा बाढीपीडितका लागि ३३ करोडभन्दा बढी सहयोग हस्तान्तरण


काठमाडौं-चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको २२ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गर्दै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ सरकारको तर्फबाट २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६० लाख रुपैयाँ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

त्यस्तै, राजदूत माओमिङले चिनियाँ रेडक्रसको तर्फबाट उपलब्ध गराइएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। यससँगै चीनबाट बाढीपीडितका लागि प्राप्त आर्थिक सहयोग करिब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो विपत्तिका कारण नेपाल र चीन दुवै प्रभावित भएको भन्दै विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।

नेपालमा आएको विपत्तिप्रति चीन सधैँ साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिँदै उनले चीन सरकारले घोषणा गरेका अन्य सहयोगसमेत नेपाल भित्रिन सुरु भइसकेको बताए।

उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन राहत सामग्री काठमाडौं ल्याएका छन्। ती जहाजमार्फत टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री ल्याइएको हो। थप सहयोगसमेत निरन्तर उपलब्ध गराउने चीनको प्रतिबद्धता रहेको उनले बताए।

राजदूत माओमिङले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको जानकारी दिए। थप केही दक्ष उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेको उनले बताए।

त्यस्तै, नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा राहत तथा उद्धार सामग्री बोक्न सक्ने क्षमताको ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई गराएका छन्।