अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवासहित चार जिल्लाका विपद् प्रभावित स्थानीय तहलाई बागमती सरकारले ३ करोड दिने

रसुवासहित चार जिल्लाका विपद् प्रभावित स्थानीय तहलाई बागमती सरकारले ३ करोड दिने


काठमाडौं-बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ उपलब्ध गराइनेछ। यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रदेश सरकारले विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ। उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने मुख्यमन्त्री थापाले बताए।

विपद्बाट प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको उनले जानकारी दिए।

‘मृतकका आफन्तसँग लाउने लुगाबाहेक केही पनि छैन। मृतकको सद्गत गर्नसमेत सकिरहेको अवस्था छैन। त्यसैले तत्कालै प्रतिमृतक २५ हजार रुपैयाँ सद्गतका लागि दिने निर्णय गरेका छौँ,’ मुख्यमन्त्री थापाले भने, ‘जहाँ–जहाँ रासनको समस्या छ र जहाँ–जहाँ सेल्टरमा मानिसहरू बसेका छन्, त्यहाँ खानेकुरा र अस्थायी बसोवासका लागि लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने गरी काम सुरु गरेका छौँ।’

उनका अनुसार प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर राहत तथा पुनःस्थापनाका काम अघि बढाइरहेको छ। प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए।

संघीय सरकारले संकलन गरेको राहत वितरणको जिम्मा प्रदेशलाई

मुख्यमन्त्री थापा मगरले संघीय सरकारले रसुवाका बाढी प्रभावितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्‍याउन नसकेको आरोप लगाए।

उनका अनुसार संघीय सरकारले संकलन गरेको राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा राखिएको छ।

आइतबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि उक्त राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारलाई दिइएको मुख्यमन्त्री थापाले बताए।

‘राहत संकलन गरिएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन। नुवाकोटको बट्टार र रसुवाको धुन्चे ब्यारेकमा राहत सामग्री राखिएको छ,’ उनले भने, ‘त्यो सामग्री वितरण गर्नुपर्‍यो। अब स्थानीय पालिकासँग समन्वय गरेर राहत वितरणको जिम्मा प्रदेश सरकारले लिने निर्णय भएको छ।’

प्रदेश सरकारले सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग समन्वय गरी राहत सामग्री प्रभावितसम्म पुर्‍याउने उनले बताए।

रसुवामा ५ हजारभन्दा बढी बेपत्ता भएको मुख्यमन्त्रीको दाबी

मुख्यमन्त्री थापाले रसुवामा आएको बाढीबाट ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरेका छन्।

उनका अनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। गोसाइँकुण्ड गाउँपालिकामा मात्रै २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनले दाबी गरे।

बाढीमा संविधानसभा सदस्य कर्ण लामाका परिवारका सदस्यसमेत बेपत्ता भएको उनले जानकारी दिए। गोसाइँकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङसमेत बेपत्ता रहेको मुख्यमन्त्री थापाले बताए।