अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्को घडीमा राजनीति होइन, उद्धार र राहतमा जुटौँ: अध्यक्ष ओली

विपद्को घडीमा राजनीति होइन, उद्धार र राहतमा जुटौँ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्।

आइतबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले विपत्ति सबैको साझा पीडा भएकाले यसको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।

एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा रसुवाको प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन बुझ्ने क्रममा ओलीले अहिलेको अवस्था राष्ट्रिय शोक र पीडाको विषय भएको बताए।

‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो। यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन,’ ओलीले भने।

उनले विपद्लाई साझा दायित्वका रूपमा ग्रहण गर्दै उद्धार, राहत र पुनःनिर्माणका काममा सबै पक्ष जुट्नुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी बढी हुने उल्लेख गर्दै ओलीले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत तथा पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताए।

‘यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो,’ उनले भने, ‘सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ।’

राजधानी नजिकैको प्रदेशमा भएको घटनाको गहिराइ बुझ्न सहज हुने उल्लेख गर्दै ओलीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले राजनीतिक दल, संघसंस्था, समाजसेवी तथा परोपकारी निकायलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गरे।

एमालेले विपत्तिको संवेदनशीलतालाई ध्यानमा राख्दै घटनाको सुरुवाती दिन भदौ १० मै सचिवालय बैठक बसेर समाधानका लागि पहल गर्ने निर्णय गरेको ओलीले बताए।

सो अवसरमा महासचिव पोखरेलले रसुवाको बाढीपहिरोबाट भएको क्षति र प्रभावित क्षेत्रको वस्तुस्थितिबारे विस्तृत जानकारी गराउँदै अध्यक्ष ओलीलाई अनुगमन प्रतिवेदन बुझाएका थिए।