अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल


ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो ।

नेपाल सम्बत ११४२ का अवसरमा गोदावरी नगरपालिका–१४ द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा  र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याविनेटबाट नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासनमन्त्री थिए ।’ यस्ता अधिकार प्रतिगमनकारीले खोस्नसक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिँदै उहाँले प्रतिगमनको विपक्षमा अग्रगमनको पक्षमा निरन्तर लाग्न जनतासमक्ष अपिल गर्नुभयो ।

सङ्घीयताले देश टुक्राउँछ भन्ने राजनीतिक सोच राख्ने राजनीतिक दलका कारण पनि नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा देशभर कार्यान्वन गर्न नसकिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘पहिचानसहितको सङ्घीयता कार्यान्वयनका लागि निरन्तर सङ्घर्ष आवश्यक छ ।’ आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै उहाँले जनताको चाहना बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पानुभयो ।

कार्यक्रममा गोदावरी नगरमालिका प्रमुख गजेन्द्र महर्जनले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका देशभर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै त्यसका लागि आम नागरिक एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।