काठमाडौं – पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको घटनाको विषयबारे पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोधेको छ ।
रेग्मीले शनिवार लन्डनबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गर्नुभएको थियो । स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ समेत गर्नुभएको थियो । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उहाँले सचिव यादव कोइरालालाई लिखित स्पष्टीकरण दिन निर्देशन दिनुभएको हो ।
लिखित स्पष्टीकरण पनि चित्तबुझ्दो नआएको खण्डमा उहाँमाथि मन्त्रालयले कारबाहीको तयारी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि उहाँलाई बोर्डबाट समेत हटाउने तयारी गरिएको स्रोतले बतायो ।
मन्त्री आले र सचिव कोइरालासहित कार्यक्रममा भाग लिन रेग्मी लन्डन जानुभएको थियो । फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीले सोधपुछ गरेपछि विवाद भएको थियो । सोधपुछको क्रममा रेग्मीले कर्मचारीलाई थप्पड हान्नुभएको थियो ।







प्रतिक्रिया