अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह


चितवन – चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ ।

तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउनुभयो । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उहाँले सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नौ सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताउनुभएको छ । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उहाँले बताउनुभयो ।

३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो ।

‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले ?’, उहाँले भावुक हुँदै भन्नुभयो ।

सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफूहरु सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उहाँले बताउनुभयो । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उहाँले आग्रह गर्नुभयो ।

महामारी र चाडपर्वमा पनि आराम नगरी रंगशाला निर्माण अभियान जारी राखिएको स्मरण गर्दै उहाँले दर्शकको माया र ममता पाएर नै सामाजिक काममा हात हालिएको बताउनुभयो । रंगशाला निर्माण परियोजनाको आफूहरू माध्यम मात्र भएको उहाँले बताउनुभयो ।

‘हरेक विषम परिस्थितिको सामना गर्दै रंगशाला जसरी पनि बन्नुपर्छ भनेर त्यो आँट, त्यो हिम्मतका साथ हामी अघि बढेका थियौँ । तर, बिडम्बना विगत चार महिनादेखि रंगशाला निर्माण अभियान रोकिएको छ’, उहाँले भन्नुभयो ।

सरकारको उपस्थितिमा घोषित परियोजना निर्माणका लागि सके जतिको उपाय अपनाइएको तर थोरै सहयोग अनि धेरै आश्वासन र धोका पाइएको उहाँले बताउनुभयो ।

‘सरकारलाई सुरुवाती दिनदेखि नै अभिभावकत्व ग्रहण गरिदिन अनुरोध गरिरह्यौँ’, उहाँ भन्नुहुन्छ, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । सबैको ढोकामा हामी पटकपटक पुग्यौँ । सिंहदरबार, ७५३ वटै सरकारका ढोकामा पत्राचार गरेका छौँ । अनुरोध गरेका छौँ । हामी नपुगेको ठाउँ, शायदै कम होला ।’

आर्थिक अनियमितता हुन नदिन आफूहरू सुरुवाती दिनदेखि नै सचेत रहेको उहाँले बताउनुभयो । फाउण्डेसनले असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्योसँगै भोगाइ र पीडा पनि सार्वजनिक गर्ने सुरमा छन्, धुर्मुस । हरेक आलोचना र टिप्पणीको जवाफ दिइने उहाँले बताउनुभयो ।

‘एकचोटी फेरि सबै जुर्मुराएर जुट्ने हो भने अबको ६ महिनादेखि वर्षदिनमा इतिहासमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय मादण्डको रंगशाला नेपालले पाउने छ’, उहाँले भन्नुभयो । रंगशालाको लागि सहयोग गरिसकेका ४० हजार जनाभन्दा बढीको भावनाको कदर सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो ।