अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविरल वर्षासँगै देशभरका प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै देशभरका प्रमुख राजमार्ग अवरुद्ध


काठमाडौं-अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ।

बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै आवागमनमा कडाइ गरिएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर आवागमन खुलाइने जनाइएको छ।

त्यस्तै, मकवानपुरस्थित कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नुवाकोटमा टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटका अन्य मुख्य राजमार्ग तथा पासाङ ल्हामु सडक खण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प भएको छ।

यस्तै, कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्म–मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रयास भइरहेको जनाएको छ। बाढी, पहिरो तथा सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।