अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायत रोजगारीमा नर्स पठाउने सरकारको तयारी

बेलायत रोजगारीमा नर्स पठाउने सरकारको तयारी


काठमाडौं – सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ।

नेपालस्थित बेलायती राजदूतवासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सरकारीस्तरमा श्रम सम्झौता गरेर १० हजार नर्स रोजगारीका लागि लैजाने प्रस्ताव गरेको हो ।

शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिनुभयो ।

‘यो प्रस्ताव रोजगारीको राम्रो अवसर हो,’ गौतमले भन्नुभयो, ‘अहिले श्रम बजारमा देखिएको बेरोजगारीदर कम गर्न पनि सघाउ पुर्‍याउने छ ।’

कस्ता नर्सले पाउँछन् बेलायतमा जागिर ?

मन्त्रालयका सचिव गौतमका अनुसार अहिलेलाई अनुभव भएका नर्सले मात्र बेलायत जान पाउने छन् । ‘बेलायत विकासित मुलुक हो । त्यसैले यहाँबाट पठाइने नर्सहरू दक्ष र अनुभवी हुने छन् । बेलायत जाने नर्ससँग नेपालमा पर्याप्त तालिम, केही अस्पतालमा काम गरेको अनुभव हुनुपर्ने छ,’ उहाँले भन्नुभयो ।

बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने श्रम मन्त्रालयले जनाएको छ ।

रोजगारीमा बेलायत नर्स पठाउँदा रोजगारीको ग्यारेन्टी, परिवारिक सुविधा, स्वास्थ्यसँगै रोजगार र अन्य बीमा, आतेजाते खर्च, तलब प्रष्ट खुलाएर, उनीहरूको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरी सम्झौता हुने गौतमले बताउनुभयो ।

हाल नेपालमा ६० हजारभन्दा धेरै नर्स अध्ययन सकेर बसेका छन्। बेलायत पुगेका १० हजारभन्दा बढी विद्यार्थी अध्ययन सकेर उत्तै काम गर्दै बसेका छन् । बेलायतले पहिलोपल्ट यति ठूलो संख्यामा नेपालबाट जनशक्ति लैजाने औपचारिक प्रस्ताव गरेको हो । यसअघि सन् २००५ मा पनि बेलायतले चार हजार नेपाली नर्सलाई जागिर दिने प्रस्ताव गरेको थियो । त्यो बेला नेपालले नै पठाउन सकेन ।

दुवै देशबीच चाँडै श्रम सम्झौता भए सन् २०२२ को मध्यतिर नर्स रोजगारीमा पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ ।