अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी


काठमाडौं-राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग ऐन संशोधनका विषयमा थप छलफल भएको हो। यसअघि पनि मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गर्दै आएको थियो।

मन्त्रालयले आवश्यक छलफल र गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई समेत बीमाको दायरामा समेट्ने प्रस्ताव गरिएको छ। आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था पनि संशोधनमा समेटिएको छ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायबाट उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव गरिएको छ। बीमा सेवा प्रवाहलाई सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयलाई पनि सुधारका रूपमा अघि सारिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य रहेको मन्त्री मेहताले बताइन्। आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनको भनाइ छ।