अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनकोशी-मरिण ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री कार्यालयमाथि छानबिन गर्न आङ्देम्बेको माग

सुनकोशी-मरिण ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री कार्यालयमाथि छानबिन गर्न आङ्देम्बेको माग


काठमाडौँ-नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

कांग्रेसको आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेको थियो। सोही मागअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सात बुँदे निर्देशन दिएको थियो। त्यसैको पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको आरोप लगाउँदै घटनाको छानबिन आवश्यक रहेको बताएका छन्।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले बिहीबार फेसबुक स्ट्याटसमार्फत भनेका छन्।

आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो ? ठेक्का रद्द गर्ने कानुनी आधार के हो ? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’

मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन तथा राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ।

आङ्देम्बेले राष्ट्रिय गौरवको आयोजनालाई सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बनाइएको भन्दै असन्तुष्टि जनाएका छन्।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ। यस्तो महत्त्वपूर्ण आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा कानुनी आधार र सरकारी निर्णयको पारदर्शितामाथि प्रश्न उठाउँदै आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।