काठमाडौं-नेकपा एमालेको राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न थरलाई दलित सूचीमा समावेश गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
कमिटीका अध्यक्ष नारायण सिलवालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी नेपाल राजपत्रमा प्रकाशित गरिएको सरकारी निर्णयप्रति विरोध जनाएका हुन्।
विज्ञप्तिअनुसार सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३६ मा प्रकाशित गरेको थियो।
उक्त निर्णयले नेवार समुदायको जातीय परम्परा, भाषा, भेषभूषा र संस्कृतिको अवमूल्यन गरेको एमाले राजधानी प्रदेश कमिटीको ठहर छ। कमिटीले यस विषयमा नेवार समुदायका संस्कृतिविद्, अगुवा तथा अभियन्ताहरूको राय र सल्लाहसमेत नलिइएको भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ।
कमिटीले उक्त निर्णय तत्काल खारेज गरी सूचीकरणमा फेरबदल गर्नुपर्ने भए सम्बन्धित समुदायका व्यक्तिहरूसँग परामर्श गरेर आमसहमतिमा निर्णय गर्न सरकारसँग जोडदार माग गरेको छ।
विज्ञप्तिमा नेवार समुदायको पहिचान, परम्परा र सांस्कृतिक मूल्य मान्यताको सम्मान गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।




प्रतिक्रिया