अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सर्‍यो

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सर्‍यो


काठमाडौं – भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज बिहान ११ बजे बैठक बोलाएको थियो । तर सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो ।

बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको उहाँले बताउनुभयो ।

१५ सदस्यीय समितिमा चार जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकोमा ५ जनामात्रै उपस्थित हुनुभएका थिए । एमालेबाट सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित हुनुहुन्थ्यो । अन्य सदस्यहरु पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरु सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।