अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीको सागरनाथ जंगलमा भेटिएका मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ?

महोत्तरीको सागरनाथ जंगलमा भेटिएका मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ?


महोत्तरी – गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार वर्ष र दुई वर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे । केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो। राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने विषयले निक्कै चर्चा पाउदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशाला कै दिनेश महतोले आश्रय दिनु भयो र प्रहरीलाई खबर गरे ।

बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । ‘महिलाको मुख पछ्यौराले छोपेको थियो । केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’ उनले भने । प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्को दुःखद घटना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको शब फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृतक महिलालाई जोडेर अनेक अड्कलबाजी हुन थालेको छ ।

गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृत अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीले समेत आकलन गरेको छ । प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आत्महत्या भन्दा पनि हत्या भएको हुन सक्ने आशंका छ । गर्भवती ती महिलाको घाटीमा निलडाम समेत देखिनुले आत्महत्या भन्दा पनि हत्या नै भएको हुनसक्ने प्रहरीको आकलन छ ।

‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भन्नुभयो । बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृत अवस्थामा भेटिनुलाई यी घटना समबन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घटनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ । बच्चाहरुलाई मृतक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ ।

घटनाका समबन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ। घटना भएको तीन दिन बितिसक्दा पनि न मृतक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै । बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् । बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ ।

मृतक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुबै बच्चाको आमा मृतक महिला हुन सक्ने कतिपयको अनुमान छ । मृतक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पोष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।