अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा सँगै काम गर्ने साथीको हत्या

उदयपुरमा सँगै काम गर्ने साथीको हत्या


उदयपुर – उदयपुरमा निर्माणको क्षेत्रमा सँगै काम गर्ने कामदारबीच भएको विवादले हत्याको रूप लिएको छ। उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतमा साथीहरूबीच भएको हत्याले विवादको रूप लिएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बीचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका दुवै मजदुरबीच आपसी वादविवाद हुँदा एक जनाको हत्या भएको हो।

गत फागुन ७ गते उदयपुरको कटारी नगरपालिका–८ टोड्केको जंगलमा मृत भेटिएका व्यक्तिको हत्या भएको पाइएको प्रहरीले जनाएको छ । हत्या भएका व्यक्ति भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मिणाको हत्यामा संलग्न भएको आरोपमा उदयपुर कटारी नगरपालिका–१ बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल बिकलाई पक्राउ गरेको छ । बिकले मिणालाई माघ २५ गते घाँटीमा केबलको डोरीले कसेर हत्या गरेको बयानमा उल्लेख गरेका छन् ।

हत्या गरिएका मिणा र हत्यामा संलग्न बिक मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको प्राविधिकका रूपमा काम गर्दै आएका थिए । उनी माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्दै हुलियासहित पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि उनको खोजतलास गरिएको थियो ।

पुलको ठेक्का गर्ने बिक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याएर काम गर्ने भनी सम्झौता भए अनुसार दुवै पार्टनरका रूपमा काम गर्दै आएका थिए ।

माघ २३ गते मिणाले चढ्ने गरेको बिआर ०१ बिसी ५६९७ नम्बरको गाडीमा दुवै जना काम गर्ने साइटबाट पुलको सामान लिन भनी वीरगन्ज गएका थिए । त्यहाँबाट माघ २५ गते फर्केर आउँदै गर्दा बिकको घर कटारी जाने क्रममा बाटोमा लेनदेनको विवाद भएपछि रिसको आवेगमा बिकले मिणाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बिकले बेलश्रोतमा हत्या गरी उनीहरूले प्रयोग गर्दै आएको गाडीमा मिणाको शवलाई गाडीको डिकीमा ओढ्नेले छोपेर घटनास्थल भन्दा ३० किलोमिटरमाथि टोड्के जंगलमा फालेको प्रहरीले जनाएको छ । मिणाको शवलाई जंगलमा फालेर फर्किएका बिकले मृतकले प्रयोग गर्ने मोबाइल फोन सप्तकोसी नदीमा फालेर उनीहरूले प्रयोग गर्ने गाडी भारतीय बजार भीमनगरमा लगेर बेवारिसे छोडेको अनुसन्धानबाट खुलेको छ ।

एक महिना बित्न लाग्दा पनि मिणा नफर्केपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि सक्रियता बढाएको प्रहरीले बेवारिसे भनिएको शवको फोटो उनको आफन्तलाई सनाखत गराउँदा मिणाकै भएको पुष्टि भएको थियो । त्यसपछि प्रहरीले बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार बिकलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उनले हत्या स्वीकारेको  जनाएको छ ।