अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट


काठमाडौं – तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला तर नोटबाट पनि ब्रिकेट बन्छ भन्ने तपाईंले थाहा पाउनुभएको छैन होला ।

यस्तै, तपाईंलाई नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनु हुने भएको छ ।

यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ ? तर, यो गलत समाचार होइन । पूराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ब्रिकेट बनाउने भएको छ । केन्द्रीय बैंकले विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ गरेको छ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको छ । केन्द्रीय बैंकले त्यसलाई बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नाम दिएको छ ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा पूराना नोटलाई धुल्याएर ब्रिकेट बनाउन थालिएकोछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सो कार्यको औपचारिक शुभारम्भ गर्नुभयो ।

गभर्नर अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गर्नुभएको केन्द्रीय बैंकले जनाएको छ । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ। नेपालमा नोट व्यवस्थापनका लागि नयाँ प्रणाली अवलम्बन गरिएको हो ।

गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रिया नेपालका लागि नयाँ भएको बताउनुभयो । त्यस अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राख्नुभयो ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ

उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६र६ मिलिमिटर हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिन्छ ।

यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनसमेतमा उपयोगी हुने विश्वास लिइएको छ । थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । ती मेसिन नेदरल्याण्डबाट आयात गरिएको हो ।

बीएसबीएमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । सञ्चालनमा ल्याइएको बीएसबीएस प्रणाली वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ ।