काठमाडौं- नेकपा एमाले उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क अघि सार्नुभएको छ । मेयर वा अध्यक्ष स्थानीय तहको प्रधानमन्त्री भएको भन्दै रिमालले पद खाली गरेर चुनावमा जान पर्ने कुनै कारण नभएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन’ सामाजिक सञ्जालमा रिमाल लेख्नुहुन्छ , ‘स्थानीय तहका ‘प्रधामन्त्री’ पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरी चुनावमा जानुअघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’
चुनावमा पदको दुरुपयोग हुन नहुने तर सेवा नै प्रभावित हुने गरी पद खाली गर्न नहुने रिमालले उल्लेख गर्नुभएको छ । ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’ रिमालको सोधइ छ ।
पूर्वाग्रही र हास्यास्पद : रिजाल
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेकाे बताउनुभएको छ ।
‘के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री-मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो,’ उहाँले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ, ‘स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।’
स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ । निर्वाचन आयोगले बिहीबार आचारसंहिता प्रकाशित गर्दै आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने, उम्मेदवारीअघि राजीनामा दिनुपर्ने व्यवस्था पनि कायम गरिएकाे छ ।







प्रतिक्रिया