अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव विश्वसनीय र पारदशी बनाउन ट्रान्सपरेन्सीको आह्वान

चुनाव विश्वसनीय र पारदशी बनाउन ट्रान्सपरेन्सीको आह्वान


काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निष्पक्ष, विश्वसनीय र पारदर्शी रुपमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ ।

टीआई नेपालले एक विज्ञप्तिमार्फत सातवटा सरोकारवाला पक्षहरुलाई मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । उमेद्वारका साथै मतदातासमेतलाई शान्तिपूर्ण, भर र त्रासरहित वातावरणमा निर्वाचन हुने वातावरण बनाउन आग्रह गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निर्वाचनलाई विश्वसनीय र निष्पक्ष बनाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

मतदाता शिक्षाको व्यवस्था गरी उचित ठाउँमा मतदान केन्द्रको व्यवस्था गर्न र मतदातालाई डररहित वातावरण दिन पनि आयोगलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘मतगणना र नतिजा घोषणामा सहज र विश्वसनीय व्यवस्था मिलाउन आयोगलाई विशेष आह्वान गर्दछ ।’

ट्रान्सपरेन्सीले उपयुक्त, सक्षम, सेवामुखी र योग्य उमेद्वार छनौट गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । अनि सभ्य र शिष्ट प्रचारशैली अपनाउन अनि जिम्मेवारीपूर्वक व्यवहार गर्न दलहरुलाई आह्वान गरेको हो । त्यसैगरी मतदातामा डर, त्रास, भ्रम वा लोभ लालचमा नपारी स्वतन्त्र मत व्यक्त गर्ने वातावरण दिन उमेद्वारहरुलाई आग्रह गरेको छ ।

आयोगले कसैको लोभलालचमा नपरी भ्रम र भयरहित रुपमा मतदान गर्न मतदातालाई आग्रह गरेको छ । अनि लोभलाचन र स्वार्थ नभएका अनि उच्च नैतिक आचरण भएका उमेद्वारलाई मतदान गर्न सुझाव दिएको छ ।

ट्रान्सपरेन्सीले विज्ञप्तिमार्फत भनेको छ, ‘आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम–मतदातालाई आह्वान गर्दछ ।’

ट्रान्सपरेन्सीले आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरु चन्दादातालाई आग्रह गरेको छ । अनि निर्वाचन आचारसंहिता विपरीत कुनै पनि सहयोग नगर्न ध्यानाकर्षण गराएको छ।