काठमाडौं-नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिप्रति कटाक्ष गर्दै नेपाली स्वाभिमान र राष्ट्रिय आत्मविश्वासमाथि प्रश्न उठाएकी छन्।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई ‘गुलाम र लम्पसारवादी’ प्रवृत्तिको संज्ञा दिएकी हुन्। उनले राष्ट्रिय स्वाभिमान कमजोर पार्ने अभिव्यक्तिलाई नेपाली नागरिकले चुपचाप स्वीकार गरिरहनुपर्ने हो भन्दै प्रश्नसमेत गरेकी छन्।
झाँक्रीले आफ्नो टिप्पणीमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यशैलीमाथि पनि आलोचना गरेकी छन्। उनले नेपालमा लामो समयदेखि नेपालविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै एक डाक्टर नेताको प्रसंग उठाएकी छन्।
भट्टराईलाई लक्षित गर्दै उनले लेखेकी छन्, ‘नेपालका एक जना डाक्टर नेता लामो समयदेखि निरन्तर नेपालविरोधी गतिविधिमा संलग्न थिए। जो आफैँले निर्माण गरेको संविधान जारी भएपछि आफ्नै घरै छोडे, जबकि ७७ र ७ को प्रस्ताव उनकै थियो। यी अंकले के कुराको संकेत गर्छन् भन्नेबारे विभिन्न षड्यन्त्रका सिद्धान्तहरूले आ–आफ्नै व्याख्या गर्छन्।’
त्यस्तै, झाँक्रीले पछिल्लो समय अर्को डाक्टर पात्र देखा परेको टिप्पणी गर्दै वाग्लेतर्फ संकेत गरेकी छन्। उनले यस्ता अभिव्यक्तिले नेपाली स्वाभिमानविरुद्ध हीनभावना फैलाउने आरोप लगाएकी छन्।
‘फेरि अर्का डाक्टर पात्र खडा भएका छन्, जसले निरन्तर नेपालविरोधी, नेपाली स्वाभिमानविरोधी र हीनभावना झल्किने अभिव्यक्ति दिइरहेका छन्,’ उनले लेखेकी छन्, ‘उनका ट्र्याक रेकर्डहरू हेरौँ, उनले कहाँ, कहिले र के बोलिरहेका छन् भन्ने कुरा केलाउँदै जाऔँ।’
राजनीतिक वृत्तमा भविष्यमा यस्ता अरू पात्र पनि देखिन सक्ने भन्दै झाँक्रीले राष्ट्रिय स्वाभिमान र आत्मविश्वासको रक्षा गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले प्रश्न गरेकी छन्, ‘के हामी नेपाल र नेपाली यस्तै गुलाम, लम्पसारवादी पात्रहरूद्वारा शासित हुन अभिशप्त छौँ ? के नेपाली स्वाभिमानमाथि प्रश्न उठाउने र राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने प्रवृत्तिलाई हामीले चुपचाप स्वीकार गरिरहने हो ?’
झाँक्रीको यो टिप्पणी अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा आएको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला सार्वजनिक भएको हो।



प्रतिक्रिया