अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलवायु न्यायको माग गर्दै चीनबाट फर्किइन् पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्यायको माग गर्दै चीनबाट फर्किइन् पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्।

चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर भण्डारी स्वदेश फर्किएकी हुन्। उनी सम्मेलनमा सहभागी हुन गत बिहीबार चीन गएकी थिइन्।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो। सम्मेलनमा विशिष्ट अतिथिका रूपमा शनिबार सम्बोधन गर्दै भण्डारीले जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा धारणा राखेकी थिइन्।

उनले नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको उल्लेख गर्दै नेपालको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी थिइन्।

विश्वव्यापी शासन र जलवायु न्याय प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै भण्डारीले हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग सम्बन्धित साझा प्राकृतिक सम्पदा भएको बताएकी थिइन्। यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिएकी थिइन्।

मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणालीको विकास र विपद् प्रतिकार्यमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, भण्डारीले शक्ति नभई अन्तर्राष्ट्रिय कानुनका आधारमा राष्ट्रहरूबीचको सम्बन्ध निर्देशित हुनुपर्ने धारणा राखेकी थिइन्। सबै राष्ट्रको आवाजको सम्मान हुने र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउने विश्वव्यवस्था आवश्यक रहेको उनले बताएकी थिइन्।

यस्तो विश्वव्यवस्था निर्माणका लागि संयुक्त राष्ट्रसङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिबिम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिएकी थिइन्।