अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा स्कार्पियो दुर्घटना: ६ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कार्पियो दुर्घटना: ६ जनाको मृत्यु, तीन घाइते


गुल्मी-गुल्मीको कालीगण्डकी गाउँपालिका-२, दबौखानीमा स्कार्पियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल गाडी खस्दा दुर्घटना भएको हो । स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शनका लागि आएका दर्शनार्थी सवार स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् ।

मृत्यु हुनेमध्ये स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ–१० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१, सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् । घटनास्थलमै मृत्यु भएका अर्का एक जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएकी निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गण्डकी प्रदेशको बा ०२२० नम्बरको स्कारपियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र मृतक तथा घाइतेको विवरण पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।