एउटा बालकको जीवनमा आएको मातृ वियोग, अभावमा हुर्किएको बाल्यकाल, अन्यायविरुद्ध उर्लिएको विद्रोही चेतना र निरङ्कुशताविरुद्धको संघर्षले कसरी एउटा राजनीतिक व्यक्तित्वको निर्माण गर्छ ? केपी शर्मा ओलीको जीवन कथाले उठाउने प्रश्न केवल एउटा नेताको जीवनीसँग सम्बन्धित छैन, यो समाज, सङ्घर्ष, ज्ञान र नेतृत्वको अर्थसँग पनि जोडिएको छ। जन्मँदै प्रधानमन्त्री बन्ने सपना कसले देखेको थियो र ? कुनै पनि मानिस जन्मँदै ठूलो हुँदैन। उसको जन्मसँगै इतिहास लेखिँदैन, न त भविष्यका उपलब्धिहरूको घोषणा हुन्छ। समय, परिस्थिति, सङ्घर्ष, चेतना र निर्णयहरूले मानिसको व्यक्तित्व निर्माण गर्छन्। कतिपय मानिसको जीवन सहज परिस्थितिमा अघि बढ्छ, कतिपयले भने जीवनको सुरुवातदेखि नै अभाव, पीडा र सङ्घर्षसँग सम्झौता गर्नुपर्छ। केपी शर्मा ओलीको प्रारम्भिक जीवनलाई बुझ्न पनि यही दृष्टिकोण आवश्यक हुन्छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म वि.सं. २००८ फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। उहाँका पिता मोहनप्रसाद ओली र माता मधु ओली हुनुहुन्थ्यो। एउटा ग्रामीण परिवारमा जन्मिएको पहिलो सन्तानप्रति आमाबुबाको स्वाभाविक खुसी र आशा थियो। तर, त्यही बालक एक दिन नेपालको प्रधानमन्त्री बन्नेछ भन्ने कल्पना त्यति बेला कसले गरेको थियो होला ? त्यस समयको नेपाली समाजमा सामाजिक हैसियत, आर्थिक अवस्था र पारिवारिक पृष्ठभूमिले मानिसको अवसर निर्धारण गर्थे। शासन सत्ता सीमित वर्गको नियन्त्रणमा थियो। सामान्य परिवारमा जन्मिएको व्यक्तिले राज्यको सर्वोच्च कार्यकारी पदसम्म पुग्ने सपना देख्नु पनि असाधारण कुरा मानिन्थ्यो।
आज हामी लोकतन्त्र, समान अवसर र जनताको सार्वभौम अधिकारको कुरा गर्छौँ। तर, यी उपलब्धिको महत्त्व बुझ्न विगतको सामाजिक र राजनीतिक संरचनालाई सम्झन आवश्यक छ। एउटा सामान्य ग्रामीण परिवारमा जन्मिएको मानिस देशको प्रधानमन्त्रीसम्म पुग्नु केवल व्यक्तिगत सफलताको कथा होइन। यो नेपाली समाजमा आएको राजनीतिक परिवर्तन, जनताको सङ्घर्ष र अवसरका ढोका खुल्दै गएको इतिहाससँग पनि सम्बन्धित छ। तर, त्यो यात्रामा उपलब्धि मात्र थिएनन्। पीडा, अभाव, असुरक्षा र असङ्ख्य चुनौती पनि थिए।
बाल्यकालको मातृवियोग र हजुरआमाको न्यानो छहारी
मानिसको जीवनमा आमाको स्थान कसैले लिन सक्दैन। आमाको काख बालकको पहिलो संसार हो, पहिलो विद्यालय हो र सुरक्षाको पहिलो अनुभूति पनि हो। तर, केपी शर्मा ओलीले जीवनको प्रारम्भमै आमाको माया गुमाउनुभयो। उहाँ तीन वर्षको हुँदा आमा मधु ओलीको निधन भयो। जुन उमेरमा बालबालिकाले आमाको अनुहार हेरेर संसार चिन्न सिक्छन्, जुन उमेरमा उनीहरूलाई आमाको अँगालो र स्नेहको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यही उमेरमा उहाँ मातृ वियोगको पीडाबाट गुज्रनुभयो। बाल्यकालमा भोगिएको यस्तो वियोगको गहिराइ बाहिरबाट हेरेर पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसले मानिसको मनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा उसकै अनुभूतिसँग सम्बन्धित हुन्छ। तर, जीवनले एउटा सहारा गुमाउँदा अर्को सहारा पनि दिन सक्छ।
आमाको निधनपछि उहाँकी हजुरआमा राममाया ओलीले उहाँलाई हुर्काउनुभयो। हजुरआमाको स्नेह र संरक्षणले उहाँको बाल्यकाललाई माया र आत्मीयताको आधार प्रदान गर्यो। यस प्रसङ्गले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ, मानिसको जीवनमा जन्मदिने अभिभावकको भूमिका जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण भूमिका माया, संरक्षण र जिम्मेवारीपूर्वक हुर्काउने व्यक्तिको पनि हुन्छ। जीवनको प्रारम्भमा भोगेको पीडाले कसैलाई कमजोर बनाउन सक्छ, कसैलाई संवेदनशील बनाउन सक्छ। त्यसले व्यक्तिको स्वभावलाई कसरी आकार दिन्छ भन्ने कुरा उसको अनुभव र जीवनयात्रासँग जोडिएको हुन्छ। केपी ओलीको जीवन कथाको यो पक्षले उहाँको राजनीतिक परिचयभन्दा पर रहेको एउटा मानवीय जीवनलाई बुझ्ने अवसर दिन्छ।
अन्यायप्रतिको घृणाबाट जन्मिएको राजनीतिक चेतना
कुनै पनि राजनीतिक विचार अचानक जन्मिँदैन। त्यसको पछाडि व्यक्तिले देखेको समाज, भोगेको समय, सुनेका कथा र अनुभव गरेका घटनाहरू हुन्छन्। राधिका आमाका अनुसार, केपी ओलीमा समाजमा व्याप्त अन्याय, अत्याचार, विभेद र दमनप्रति सानैदेखि असन्तुष्टि थियो। धनी र शक्तिशाली मानिसले कमजोरमाथि गर्ने व्यवहार तथा जमिनदारबाट हुने शोषणप्रति उहाँको विरोधी चेतना थियो। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ मानिस राजनीतिमा किन प्रवेश गर्छ? कोही शक्ति प्राप्त गर्न राजनीतिमा आउँछन्। कोही सामाजिक प्रतिष्ठाका लागि आउँछन्। कोही आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न राजनीतिलाई माध्यम बनाउँछन्। तर, कतिपय मानिसले समाजको विद्यमान अवस्थालाई स्वीकार गर्न नसकेर परिवर्तनको बाटो रोज्छन्। अन्याय देखेर मौन बस्न नसक्नु, विभेदलाई स्वाभाविक नठान्नु र कमजोर मानिसको पक्षमा उभिन चाहनु राजनीतिक चेतनाका महत्त्वपूर्ण आधार हुन्।
किशोरावस्थादेखि नै राजनीतिक विचारप्रति आकर्षित हुनु र कम्युनिस्ट विचारधारासँग नजिकिनुलाई पनि यही पृष्ठभूमिमा बुझ्न सकिन्छ। यद्यपि कुनै पनि राजनीतिक विचारको मूल्याङ्कन त्यसका नाराबाट मात्र हुँदैन। त्यसले समाजमा कस्तो परिवर्तन ल्यायो, नागरिकको जीवनमा कस्तो प्रभाव पार्यो र व्यवहारमा न्याय तथा समानताको पक्षमा कति काम गर्यो भन्ने आधारमा त्यसको मूल्याङ्कन हुनुपर्छ। राजनीतिक चेतनाको वास्तविक परीक्षा यही हो।
डिग्रीभन्दा ठूलो जीवनको पाठशाला
आजको समाज प्रमाणपत्रमुखी बन्दै गएको छ। मानिस कति पढेको छ, कुन विश्वविद्यालयबाट उत्तीर्ण भएको छ र कति उच्च शैक्षिक उपाधि प्राप्त गरेको छ भन्ने आधारमा उसको ज्ञान र क्षमता मापन गर्ने प्रवृत्ति व्यापक छ। औपचारिक शिक्षा निश्चय पनि महत्त्वपूर्ण छ। यसले मानिसलाई व्यवस्थित ज्ञान, अनुसन्धानको क्षमता, विश्लेषणात्मक सोच र व्यावसायिक दक्षता प्रदान गर्छ। तर, शिक्षा र ज्ञानलाई एउटै अर्थमा सीमित गर्न मिल्दैन। राधिका आमाले केपी ओलीको ज्ञानलाई प्रमाणपत्रको सीमाभित्र राखेर मूल्याङ्कन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनुभएकोछ। उहाँको ज्ञान, विभिन्न विषयमाथिको अध्ययन, विमर्श गर्ने क्षमता र निर्णयमा देखिने विवेकलाई जीवनको अनुभवसँग जोडेर सुनाउनु नुभएकोछ।

वास्तवमा, जीवन आफैँ एउटा विशाल पाठशाला हो। एउटा किसानले माटो, मौसम, बीउ र बालीका बारेमा वर्षौँको अभ्यासबाट हासिल गरेको ज्ञान महत्त्वपूर्ण हुन्छ। एउटा गृहस्थले परिवार चलाउँदा सिकेको अनुभव पनि ज्ञानकै एउटा रूप हो। एउटा मजदुरले आफ्नो श्रमबाट सिकेको सीप, एउटा व्यापारीले बजारबाट प्राप्त गरेको अनुभव र एउटा सामाजिक अभियन्ताले समुदायसँग काम गर्दा आर्जन गरेको समझदारीको पनि आफ्नै मूल्य हुन्छ। तर, यसको अर्थ औपचारिक शिक्षाको महत्त्व घटाउनु होइन। डिग्रीले ज्ञान हासिल गर्ने एउटा बाटो दिन्छ, तर विवेकले त्यो ज्ञानलाई सही ठाउँमा प्रयोग गर्ने क्षमता दिन्छ। उच्च शैक्षिक उपाधि प्राप्त गरेको मानिसले पनि गलत निर्णय गर्न सक्छ। औपचारिक शिक्षाको अवसर कम पाएको मानिसले पनि अनुभव, स्वअध्ययन र व्यावहारिक अभ्यासबाट गहिरो समझदारी हासिल गर्न सक्छ। त्यसैले मानिसको मूल्याङ्कन गर्दा प्रमाणपत्र मात्र हेर्नु पर्याप्त हुँदैन। उसको सोच, व्यवहार, निर्णय, जिम्मेवारीबोध र समस्याको समाधान गर्ने क्षमतालाई पनि हेर्नुपर्छ। ज्ञानलाई प्रमाणपत्रमा मात्र सीमित गर्नु हुँदैन। तर, नेतृत्वको मूल्याङ्कन गर्दा ज्ञानको चर्चा मात्र पर्याप्त हुँदैन। नेतृत्वले प्राप्त गरेको अधिकार कसरी प्रयोग गर्यो, जनताका समस्या समाधान गर्न कति सफल भयो र सार्वजनिक जिम्मेवारी कति पूरा गर्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
पञ्चायती व्यवस्थाको अँध्यारो र विचारको विद्रोह
कुनै पनि देशको राजनीतिक इतिहास बुझ्न त्यस देशले भोगेको निरङ्कुशता, दमन र अधिकारका लागि गरिएको संघर्षलाई बुझ्नुपर्छ। केपी ओलीको राजनीतिक जीवनको प्रारम्भिक चरण पञ्चायती व्यवस्थाको समयसँग जोडिएको थियो। त्यो समयमा राजनीतिक दलमाथि प्रतिबन्ध थियो र राज्यसत्ताको आलोचना तथा राजनीतिक रूपमा सक्रिय हुने स्वतन्त्रता आजको जस्तो थिएन। राजनीतिक अधिकारका लागि आवाज उठाउने व्यक्तिहरूले गिरफ्तारी, यातना र अन्य प्रकारका दमनको सामना गर्नुपर्थ्यो। राधिका आमाका अनुसार, केपी ओली किशोरावस्थादेखि नै राजनीतिक गतिविधिमा संलग्न हुनुभयो र त्यसै क्रममा पटक-पटक पक्राउ पर्नुभयो। यस प्रसङ्गले एउटा आधारभूत लोकतान्त्रिक सत्य सम्झाउँछ राजनीतिक स्वतन्त्रता समाजलाई सहजै प्राप्त भएको उपहार होइन। यसका लागि विभिन्न पुस्ताले संघर्ष गरेका छन्, जोखिम उठाएका छन् र व्यक्तिगत जीवनमा ठूलो मूल्य चुकाएका छन्।

आज हामीले राजनीतिक विचार व्यक्त गर्न, सरकारको आलोचना गर्न, संगठन बनाउन र निर्वाचनमार्फत नेतृत्व चयन गर्न पाउने अधिकारलाई सामान्य रूपमा लिन सक्छौँ। तर, कुनै समय यिनै अधिकारको माग गर्नु नै राज्यसत्ताको आँखामा अपराधसरह मानिन्थ्यो। लोकतन्त्रको वास्तविक अर्थ निर्वाचन गराउनुमा मात्र सीमित छैन। नागरिकले स्वतन्त्रतापूर्वक विचार व्यक्त गर्न पाउनु, असहमत हुन पाउनु, राज्यको आलोचना गर्न पाउनु र राजनीतिक विकल्प रोज्न पाउनु पनि लोकतन्त्रका आधार हुन्। त्यसैले विगतको राजनीतिक संघर्षलाई सम्झनुको अर्थ कुनै एक नेताको प्रशंसा गर्नु मात्र पनि होइन। त्यसले आजको पुस्तालाई लोकतान्त्रिक अधिकारको मूल्य बुझ्न र तिनको संरक्षण गर्न पनि प्रेरित गर्नुपर्छ।
चौध वर्षको जेल सजाय र गोलघरको यातनापूर्ण जीवन
केपी ओलीको जीवन कथाको सबैभन्दा मर्मस्पर्शी पक्षमध्ये एउटा उहाँले भोगेको जेल जीवन हो। राधिका आमाका अनुसार, वि.सं. २०३० असोज २२ गते उहाँलाई रौतहटबाट गिरफ्तार गरिएको थियो। त्यसपछि उहाँले लामो समय जेलमा बिताउनुभयो। उहाँको गिरफ्तारी, प्रहरी हिरासतमा भोग्नुपरेको शारीरिक तथा मानसिक यातना र भद्रगोल जेलको गोलघरमा बिताएको कठिन समय महसुस गरौँ त कस्तो थियो होला। गोलघर सामान्य कारागारभित्रको एउटा कठोर बन्दी गृहका थियो। त्यहाँको साँघुरो ठाउँ, अस्वस्थ वातावरण, असहज जीवनयापन र निरन्तरको मानसिक दबाबले मानिसको शारीरिक तथा मानसिक अवस्थामाथि गम्भीर असर पार्न सक्थ्यो। केपी ओलीलाई गोलघरमा चार वर्षसम्म राखिएको र त्यहाँ उहाँले अत्यन्त कठिन अवस्था भोग्नुपरेको थियो। कल्पना गरौँ, एउटा मानिसलाई आफ्नो विचार त्याग्न बाध्य पार्ने उद्देश्यले स्वतन्त्र वातावरणबाट टाढा राखिएको छ। उसले सामान्य रूपमा उभिन, सुत्न र दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ भोगिरहेको छ। बाहिरी संसारसँगको सम्बन्ध सीमित छ र भविष्यप्रतिको अनिश्चितता निरन्तर छ। यस्तो परिस्थितिमा शारीरिक पीडा मात्र चुनौती हुँदैन। मानसिक दबाब, एक्लोपन, निराशा र आफ्नो भविष्यप्रतिको अनिश्चितता पनि उत्तिकै कठोर हुन्छन्।

गोलघरको प्रसङ्गले राजनीतिक दमनको मानवीय मूल्यलाई उजागर गर्छ। यहाँ प्रश्न एउटा व्यक्तिले कति दुःख भोग्यो भन्ने मात्र होइन। एउटा राज्यव्यवस्थाले राजनीतिक विचार राख्ने नागरिकलाई कस्तो व्यवहार गर्थ्यो भन्ने पनि हो। राजनीतिक असहमतिलाई अपराध ठान्ने व्यवस्था र असहमतिलाई लोकतन्त्रको स्वाभाविक हिस्सा मान्ने व्यवस्थाबीच आकाश-जमिनको अन्तर हुन्छ। अहिलेको शासकले पनि बुझ्न जरुरी छ, अहिलेको पुस्ताले पनि बुझ्न जरुरी छ। कुनै पनि लोकतान्त्रिक समाजले विगतका यस्ता अनुभवबाट सिक्नुपर्छ। राज्यसँग शक्ति हुन्छ, तर त्यो शक्तिको प्रयोग नागरिकको अधिकारको संरक्षण गर्न हुनुपर्छ, विचार दबाउन होइन। राजनीतिक सङ्घर्षको इतिहास सम्झँदा व्यक्तिले भोगेको पीडासँगै त्यसले उठाएको लोकतान्त्रिक प्रश्नलाई पनि बिर्सनु हुँदैन।
शरीर थाक्न सक्छ, विचारको शक्ति भने जीवित रहन सक्छ
मानिसको शारीरिक क्षमता सीमित हुन्छ। निरन्तरको यातना, अस्वस्थ वातावरण र मानसिक दबाबले बलियो मानिसलाई पनि कमजोर बनाउन सक्छ। तर, व्यक्तिको विचारलाई शारीरिक अवस्थासँग मात्र जोडेर बुझ्न सकिँदैन। राधिका आमाले केपी ओलीको सङ्घर्षलाई सुनाउँदा उहाँको विचारलाई आगोको झिल्कोसँग तुलना गर्नुहुन्छ। सानो झिल्कोले पनि ठूलो वनमा आगो सल्काउन सक्ने भएझैँ एउटा विचारले समाजमा परिवर्तनको चेतना फैलाउन सक्छ भन्ने भाव व्यक्त गर्नुहुन्छ। यो तुलना राजनीतिक जीवनमा मात्र लागू हुँदैन। समाजमा कुनै गलत परम्पराविरुद्ध पहिलो पटक आवाज उठाउने व्यक्ति पनि एक्लो हुन सक्छ। अन्यायविरुद्ध बोल्ने मानिसलाई अरूले गलत ठान्न सक्छन्। स्थापित मान्यतामाथि प्रश्न उठाउने व्यक्तिले उपेक्षा, आलोचना वा दमनको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, कुनै विचार सही छ कि छैन भन्ने कुरा त्यसलाई कति मानिसले समर्थन गरे भन्ने आधारमा मात्र निर्धारण हुँदैन। त्यसको औचित्य, प्रमाण, नैतिकता र सामाजिक प्रभाव पनि हेर्नुपर्छ। त्यसैगरी, दृढता हुनु र आफ्नो हरेक विचारलाई निर्विवाद रूपमा सही ठान्नु एउटै कुरा होइन। साँचो वैचारिक प्रतिबद्धताले मानिसलाई आफ्नो विश्वासप्रति दृढ बनाउँछ। साँचो विवेकले भने आफ्ना कमजोरी स्वीकार गर्न, तथ्यका आधारमा धारणा बदल्न र अरूको तर्क सुन्न पनि सिकाउँछ। त्यसैले सङ्घर्षबाट प्राप्त हुने सबैभन्दा ठूलो शिक्षा केवल अडिग रहनु होइन; आवश्यक पर्दा आत्म समीक्षा गर्न सक्ने क्षमता विकास गर्नु पनि हो।
व्यक्तिगत पीडाबाट सार्वजनिक जीवनसम्मको यात्रा
केपी ओलीको जीवनलाई केवल जेल, यातना र राजनीतिक सङ्घर्षका घटनामा सीमित गरेर बुझ्न सकिँदैन। ती घटनाले उहाँको व्यक्तित्व निर्माणमा कस्तो भूमिका खेले भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ। बाल्यकालको मातृ वियोग, सामाजिक असमानताको अनुभव, राजनीतिक गतिविधिमा संलग्नता र लामो जेलजीवन, यी सबैले उहाँको प्रारम्भिक जीवनलाई कठिन बनाएको दस्ताबेजको विवरणबाट बुझ्न सकिन्छ। जीवनमा भोगिएका कठिनाइले मानिसलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैका लागि समान हुँदैन। कसैले कठिनाइपछि आफ्नो संसारमा मात्र सीमित रहन खोज्छ, कसैले त्यसलाई परिवर्तनको प्रेरणा बनाउँछ। राजनीतिक जीवन रोज्ने व्यक्तिका लागि निजी पीडालाई सार्वजनिक जिम्मेवारीमा रूपान्तरण गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। तर, सार्वजनिक नेतृत्वको यात्रा त्यहाँबाट अझ कठिन बन्छ। सङ्घर्षका दिनमा प्राप्त जनसमर्थन र राज्यसत्ताको जिम्मेवारी सम्हालेपछि जनताले गर्ने अपेक्षा एउटै हुँदैन। प्रतिपक्षमा रहँदा अन्यायको आलोचना गर्नु एउटा जिम्मेवारी हो। सरकारको नेतृत्व गर्दा न्यायपूर्ण व्यवस्था निर्माण गर्नु अर्को जिम्मेवारी हो। विपक्षमा रहँदा परिवर्तनको माग गर्ने व्यक्तिले सत्तामा पुगेपछि संस्थागत सुधार, सुशासन, नागरिक अधिकार र सार्वजनिक सेवाको गुणस्तरमा कस्तो परिणाम ल्याउँछ भन्ने प्रश्नको सामना गर्नुपर्छ। त्यसैले राजनीतिक सङ्घर्षको इतिहासले व्यक्तिको विगत बुझाउँछ, तर वर्तमान नेतृत्वको मूल्याङ्कनका लागि वर्तमानका काम र परिणाम पनि हेर्नुपर्छ। यही सन्तुलित दृष्टिकोणले इतिहासलाई व्यक्ति पूजाबाट अलग राखेर बुझ्न मद्दत गर्छ। नेतृत्वको वास्तविक परीक्षा पद प्राप्त गर्नु होइन, जिम्मेवारी पूरा गर्नु हो।
नेपालको राजनीतिक इतिहासमा विभिन्न विचारधारा र पृष्ठभूमिका व्यक्तिहरूले सङ्घर्ष गरेका छन्। तिनका सङ्घर्षका स्वरूप, उद्देश्य र उपलब्धि फरक फरक हुन सक्छन्। तर, लोकतान्त्रिक समाजमा सबैको मूल्याङ्कन गर्ने आधार अन्ततः सार्वजनिक हित हुनुपर्छ। कुनै नेता जेल बसेको थियो कि थिएन, उसले कति कठिनाइ भोग्यो वा उसको राजनीतिक यात्रा कति लामो छ भन्ने कुरा उसको जीवन बुझ्न महत्त्वपूर्ण हुन्छ। तर, ती कुराले मात्र नेतृत्वको सम्पूर्ण मूल्याङ्कन गर्दैनन्। नेतृत्वको वास्तविक परीक्षा राज्य सञ्चालनमा देखिन्छ। उसले नागरिकको जीवनस्तर सुधार्न के गर्यो? शिक्षा र स्वास्थ्य सेवामा पहुँच कति विस्तार भयो? रोजगारीका अवसर कति सिर्जना भए? सार्वजनिक संस्थाहरू कति प्रभावकारी बने? भ्रष्टाचार नियन्त्रण र विधिको शासनका क्षेत्रमा कस्तो प्रगति भयो? नागरिकले राज्यबाट पाउने सेवामा कति सहजता अनुभव गरे? यी प्रश्नहरू कुनै एउटा नेताका लागि मात्र होइनन्। लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जिम्मेवारी सम्हाले हरेक व्यक्तिका लागि लागू हुन्छन्। त्यसैले केपी ओलीको प्रारम्भिक जीवन र सङ्घर्षबारे सुन्दा उहाँको कठिन विगतलाई बुझ्नुका साथै नेतृत्वको व्यापक अर्थबारे सोच्न सकिन्छ। व्यक्तिगत सङ्घर्षले व्यक्तित्वको पृष्ठभूमि निर्माण गर्छ। सार्वजनिक कामले नेतृत्वको परिणाम देखाउँछ। यी दुई पक्षलाई छुट्याएर हेर्दा मात्र राजनीतिक इतिहासलाई सन्तुलित रूपमा बुझ्न सकिन्छ।
आजको पुस्ताले के सिक्ने ?
आजको पुस्ताले विगतका राजनीतिक संघर्षबाट धेरै कुरा सिक्न सक्छ। पहिलो, मानिसको प्रारम्भिक अवस्था नै उसको अन्तिम परिचय होइन। सामान्य परिवारमा जन्मिएको, कठिन परिस्थिति भोगेको वा सीमित अवसर पाएको व्यक्तिले पनि निरन्तर प्रयास र प्रतिबद्धताका माध्यमबाट आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। दोस्रो, ज्ञानलाई औपचारिक शिक्षामा मात्र सीमित गर्नु हुँदैन। विद्यालय र विश्वविद्यालयले दिने शिक्षा महत्त्वपूर्ण छ, तर स्वअध्ययन, व्यावहारिक अनुभव, सामाजिक अन्तरक्रिया र आलोचनात्मक सोचले पनि ज्ञानलाई गहिरो बनाउँछन्। तेस्रो, नागरिक अधिकारको महत्त्व बुझ्न इतिहास जान्न आवश्यक छ। आज प्राप्त स्वतन्त्रतालाई सुरक्षित राख्न विगतका संघर्षको स्मरण मात्र पर्याप्त हुँदैन; त्यसलाई व्यवहारमा सम्मान गर्न पनि आवश्यक हुन्छ। चौथो, राजनीतिक विचार राख्ने मानिसप्रति असहमति हुन सक्छ, तर असहमतिका कारण कसैको आधारभूत अधिकार खोसिनु हुँदैन। लोकतन्त्रको सुन्दरता नै विचारको विविधता र शान्तिपूर्ण प्रतिस्पर्धामा हुन्छ। पाँचौँ, कुनै पनि नेताको मूल्याङ्कन गर्दा न त उसको विगतको संघर्षलाई बेवास्ता गर्नुपर्छ, न त त्यसैका आधारमा वर्तमानका सबै कामलाई सही मान्नुपर्छ। इतिहासको सम्मान र वर्तमानको निष्पक्ष मूल्याङ्कन सँगसँगै जानुपर्छ। नेतृत्वको उद्देश्य व्यक्तिगत प्रतिष्ठा बढाउनु मात्र होइन। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु, संस्थाहरूलाई बलियो बनाउनु र आगामी पुस्ताका लागि राम्रो समाज निर्माण गर्नु हो।

अन्तमा, केपी शर्मा ओलीको प्रारम्भिक जीवनको यो वृत्तान्त एउटा व्यक्तिको बाल्यकाल, राजनीतिक चेतना र संघर्ष हो। त्यसमा मातृवियोगको पीडा छ, हजुरआमाको स्नेह छ, सामाजिक असमानताविरुद्धको असन्तुष्टि छ, राजनीतिक प्रतिबद्धता छ र निरङ्कुश शासनको सामना गर्दा भोग्नुपरेको कठोर जेलजीवन पनि छ। यी प्रसङ्गले उहाँको जीवनको एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छन्। यसले हामीलाई समाजले व्यक्तिको भविष्य कसरी निर्धारण गर्छ, कठिनाइले व्यक्तित्व निर्माणमा कस्तो भूमिका खेल्न सक्छ, ज्ञानलाई कसरी बुझ्नुपर्छ र राजनीतिक अधिकार किन महत्त्वपूर्ण छन् भन्ने प्रश्नतर्फ पनि लैजान्छ। एउटा सामान्य परिवारमा जन्मिएको बालकले जीवनमा भोगेका चुनौती र राजनीतिक यात्राको सुरुवाती संघर्षलाई सम्झँदा मानिसको जीवन कति जटिल र परिवर्तनशील हुन्छ भन्ने पनि बुझ्न सकिन्छ।
त्यसैगरी, लामो राजनीतिक संघर्षपछि प्राप्त सार्वजनिक जिम्मेवारीले अझ ठूलो दायित्व पनि सिर्जना गर्छ भन्ने कुरा बिर्सन मिल्दैन। इतिहासले हामीलाई विगत बुझ्न मद्दत गर्छ। विवेकले त्यसबाट सिक्न मद्दत गर्छ र वर्तमानका कामले भविष्यका लागि हाम्रो योगदान कस्तो हुनेछ भन्ने निर्धारण गर्छन्। ती अनुभवबाट समाजले के सिक्यो र सार्वजनिक जिम्मेवारीले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो तथ्य हेरेर मुल्यांकन गरिनपर्छ। केपी ओलीको जीवनका प्रारम्भिक संघर्षलाई बुझ्दा यही प्रश्न सबैभन्दा महत्त्वपूर्ण भएर उभिन्छ हामीले इतिहासबाट प्रेरणा लिने मात्र हो कि त्यसबाट सिकेर अझ न्यायपूर्ण, विवेकशील र जिम्मेवार समाज निर्माण गर्ने पनि हो? किनकि इतिहास सम्झनुको वास्तविक अर्थ विगतका घटनाहरू दोहोर्याउनु होइन; तिनबाट शिक्षा लिएर भविष्यलाई अझ राम्रो बनाउनु हो।



प्रतिक्रिया