अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन रोकिए देश दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन रोकिए देश दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त


जनकपुरधाम – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताउनु भएको छ ।

प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचन रोकिए देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी दिनु भयो।

आज जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनु भयो । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रति संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताउनु भयो ।

उहाँले निर्वाचनको मिति तय हुँदा छलफल र संविधानरकानुनका विषयमा तर्कवितर्क भएकै थिए भन्दै उहाँले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्क–वितर्कको आवश्यकता नरहेको टिप्पणी गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उहाँले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने धारणा राख्नुभयो । उहाँले यसका साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दाबी गर्नुभयो ।