अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि केही सडक अवरुद्ध

आज पनि केही सडक अवरुद्ध


काठमाडौं-वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण मंगलबार पनि देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही राजमार्गमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

गोरखाको आरुघाट क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, आरुघाट–९ स्थित नयाँ पुल क्षेत्रमा बाढीका कारण सडक प्रभावित हुँदा गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकमा साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

सुर्खेतमा पहिरोका कारण कर्णाली राजमार्गमा पनि एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्। सडक अवरुद्ध तथा प्रभावित हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

यता, रसुवामा गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण जिल्लाभर सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा तथा यात्रुको आवागमन प्रभावित भएको छ।