अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा निर्वाचनको तीव्र तयारी

मनाङमा निर्वाचनको तीव्र तयारी


मनाङ – यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मुख्य निर्वाचन अधिकृतसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको चामे गाउँपालिका पनि हेर्नेगरी बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लामा अन्य तीन वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला अदालत मनाङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन गराउनका लागि कार्यालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “हामीसँगै सबैले आआफ्नो क्षेत्रबाट निर्वाचनमा सहयोग गर्न जरुरी छ । सबैको सहयोगको अपेक्षा गरेका छौँ”, जिल्लाका अन्य तीनवटै पालिकामा पनि बिहीबारै निर्वाचन कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । शान्त र भयरहित तरिकाले निर्वाचन गराउनका लागि प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी जिल्लामा सुरक्षा योजना बनाएको उहाँले बताउनुभएको छ । निर्वाचन आयोगले जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले नासों गाउँपालिकाका लागि जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडू, नार्पाभूमि गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र ङिस्याङ गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ ।

जिल्लाको चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृत कार्यालयमा आवश्यक सुरक्षार्थका निकायहरु खटाइसकेको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइनेछ ।

मतदाता संख्या

यही वैशाख ३० मा गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कूल छ हजार ४९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको चार स्थानीय तहमध्ये नार्पाभूमि गाउँपालिकामा महिला २५०, पुरुष १९८ जना गरी कूल ४४८ मतदाता रहेका छन् । चामे गाउँपालिकामा महिला ३६८, पुरुष ३४३ जना गरी कूल ७११ जना, नाँसो गाउँपालिकामा महिला ९४५, पुरुष ८५७ जना गरी कूल एक हजार ८०२ जना रहेका छन् ।

यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा महिला एक हजार ७८५, पुरुष एक हजार ७५० जना गरी तीन हजार ५३५ मतदाता सङ्ख्या रहेका छन् । मनाङ देशभरको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । विकट र थोरै जनसङ्ख्या रहेको जिल्ला हो ।

गठबन्धन गर्ने

नेपाली कांग्रेस मनाङले पाँच दलीय गठबन्धनको निर्णयानुसार मनाङ जिल्लामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । काठमाडौँमा बसेको कांग्रेस र माओवादी केन्द्रका नेताको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको मनाङ कांग्रेसका सभापति शङ्कर गुरुङले जानकारी दिनुभयो । जिल्लामा चार वटा गाउँपालिका छन् । एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा छन् ।

कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले मनाङमा गठबन्धनका दल मिलेर जाने भएपछि कुनै समस्या नरहेको बताउनुभएको छ । गठन्धन गर्ने विषयमा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले पनि सहमति जनाएका छन् । कांग्रेस र माओवादीले नेकपा ९एकीकृत समाजवादी०लाई पनि सँगै लैजाने सहमति गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा छ वटा मान्यता प्राप्त दलबाहेक थप पाँच वटा दल दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएका हुन् ।

म्यादी प्रहरी

जिल्लामा छिमेकी जिल्ला लमजुङबाट म्यादी प्रहरी ल्याइएको छ । यहाँ मागभन्दा कम सङ्ख्यामा म्यादी प्रहरीमा भर्ना भएपछि छिमेकी जिल्ला लमजुङबाट ८३ म्यादी प्रहरी ल्याइएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

उहाँका अनुसार यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २५८ म्यादी प्रहरी आवश्यक थियो । तर यहाँ १४२ जनाको मात्रै भर्ना भएका पछि लमजुङबाट ८३ जना म्यादी प्रहरी ल्याएको हो । जिल्लामा चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका थिए ।

यहाँ माग सङ्ख्याभन्दा कमको आवेदन परेपछि विगतको निर्वाचनमा पनि छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था रहँदै आएको छ ।