काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अचेल समाजमा ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्।
मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रम’मा सम्बोधन गर्दै अध्यक्ष ओलीले देवताहरूको जन्म र पार्वतीको श्रापसम्बन्धी प्रसङ्ग उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीले २२-२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यास्ती जन्मिएको र तेत्तीसकोटी देवताको प्रसङ्ग जोड्दै ‘पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन बन्द’ भएको बताए। ‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्’, अध्यक्ष ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।’
अध्यक्ष ओलीले नेपाली समाजमा दक्षिणतिरबाट आउने जोगीहरूलाई सहजै विश्वास गर्ने तर आफ्नै देशका विद्वान्लाई पर्याप्त महत्त्व नदिने प्रवृत्ति रहेको पनि बताए। ‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ’, अध्यक्ष ओलीले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ।’

अध्यक्ष ओलीले नेपालीले लेखेका ग्रन्थको उद्धरण गर्नेभन्दा विदेशीले लेखेका ग्रन्थलाई बढी उद्धृत गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नै ज्ञान, विद्वता र बौद्धिक परम्परालाई महत्त्व दिनुपर्ने आशय व्यक्त गरे।







प्रतिक्रिया