अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अर्णव’ चक्रवातको असर नेपालमा बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव

‘अर्णव’ चक्रवातको असर नेपालमा बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव


काठमाडौँ-बंगालको खाडीमा विकसित भएको ‘अर्णव’ नामक चक्रवातको प्रभाव नेपालमा बिहीबार रातिदेखि पर्ने अनुमान गरिएको छ। चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी र चट्याङ पर्नुका साथै हिमाली क्षेत्रमा भीषण हिमपात हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।

चक्रवात शक्तिशाली बन्दै भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको बताइएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातको प्रभावले तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने सम्भावना छ। यसको वेग प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने र बुधबार बिहानसम्म प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार भारतको तटीय क्षेत्रमा प्रभाव पारेपछि अन्य मौसमी प्रणालीसँग मिसिँदै चक्रवातको असर नेपालमा पनि देखिन सक्छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मौसममा परिवर्तन आउने र बिहीबारदेखि विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

मौसमविद् माधुरी सिग्देलका अनुसार चक्रवातको प्रभावले हावाहुरी, चट्याङ र वर्षा हुनुका साथै हिमाली क्षेत्रमा भीषण हिमपात हुन सक्छ। हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले आवश्यक सतर्कता अपनाउन उनले सुझाव दिएकी छन्।

चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै मौसमविद्हरूले काठमाडौँ उपत्यकासहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै बुधबारसम्म धानबाली भित्र्याउन सुझाव दिएको छ। त्यस्तै, प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहण नगर्न पनि आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत अपिल जारी गर्दै चक्रवातको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि बढी पर्न सक्ने जनाएको छ। प्राधिकरणले सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ।