काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढेमात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा पार्टीप्रतिको आकर्षण फर्काउन सकिने बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा मनोनीत तीन केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाएर जनतामा आकर्षण फर्काउने अभियानमा लाग्न निर्देशन दिएका हुन्।
अध्यक्ष ओलीले गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको आरोप लगाए। अध्यक्ष ओलीले देशमा अहिले कोही पनि बोल्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको दाबी गर्दै देशमा गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको टिप्पणी गरे।
राज्यले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भइरहेको भन्दै अध्यक्ष ओलीले यस अवस्थालाई थप बिग्रन नदिन र देशलाई स्वतन्त्रता तथा स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्याउन आन्दोलनको विकल्प नभएको बताए।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए।
अध्यक्ष ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वास व्यक्त गरे। पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध र अनुशासित भएर अघि बढेमा कार्यकर्तामा उत्साह बढ्ने, जनतामा पार्टीप्रतिको आकर्षण फर्किने र पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा मनोनीत केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, इन्दु कडरिया विष्ट र डा. पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो।



प्रतिक्रिया