अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेका ११ वटा क्षेत्रका १९१ प्रतिवद्धता

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेका ११ वटा क्षेत्रका १९१ प्रतिवद्धता


सुर्खेत – कर्णाली प्रदेशको राजधानी नगर वीरेन्द्रनगर नगरपालिकाको एमालेले आगामी पाँच वर्षमा नगरपालिकाको स्वरुप कस्तो बनाउने भन्ने अवधारणा पत्र सावर्जनिक गरेको छ ।

चुनावी प्रतिवद्धता पत्रका नाममा सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रमा उल्लेख भए अनुसार ११ वटा प्राथमिकता क्षेत्र तोकेर १३७ वटा काम पाँच वर्षमा गरिसक्ने उल्लेख छ । अघिल्लो कार्यकालमा पनि एमलेले यस्तै प्रतिवद्धता जारी गरे पनि नगरमा आफ्ना नेतृत्व नभएका कारण धेरै कामहरु अधुरा भएको जनाएको छ।

पूर्वाधार, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थपन, कृषी उत्पादन र रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । यसैगरी सावर्जनिक सेवा,सुशासन,सञ्चार तथा सामाजिक सुरक्षा, सहरी सौन्दर्य र पर्यटनका क्षेत्र पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् । शिक्षा,युवा तथा खेलकुद,भूउपयोग श्रम तथा रोजगार र सहकारी क्षेत्र गरी ११ वटा क्षेत्रलाई एमालेले प्रतिवद्धतामा समेटेको छ ।

नगरको प्राथमिकताका ११ वटा क्षेत्रलाई पहिचान गरेर त्यस अन्तरगतका १९१ वटा उपक्षेत्रमा काम गर्ने गरी नगरबासीसँग प्रतिवद्धता गरिएको मेयरकी उम्मेद्वार एवं एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले बताउनुभयो ।

 एमालेले वीरेन्द्रनगर उपत्यकामा ३ वर्ष भित्र भेरी नदीबाट लिफ्टिङ (नदीको पानीलाई मोटरबाट तानेर ट्यांकीमा जम्मा गर्ने) गरेर उपत्याकाको खानेपानी समस्या समाधान गर्ने जनाएको छ । सपिङ महल, बसपार्क, नगरका विभिन्न क्षेत्रमा पार्क निर्माण एमालेको अर्को प्राथमिकता क्षेत्रमा रहेको छ । ढकालका अनुसार वीरेन्द्रनगरको भौतिक निर्माणलाई गुणस्तरीय बनाउन सिभिल इन्जिनियरिङ ल्याब बनाउने प्रतिवद्धता गरिएको छ । नगरका बासिन्दालाई नगरक्षेत्र भित्र आउजाउ गर्न सहज होस भन्नका लागि सबै सडकको स्त्तरोन्नतीसँगै नगरबस सञ्चालन गर्ने एमालेको योजना छ । आफ्ना उम्मेद्वारले जितेर गएमा सुर्खेत विमानस्थललाई उपयुक्त स्थानमा व्यवस्थपन गर्ने एमालेको योजना छ ।

वीरेन्द्रनगर एमालेले महिला स्वरोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ । जस अनुसार एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र संवृद्धिको मूलआधार भन्ने नारा तय गरेर यो कार्यक्रमलाई अभियान कै रुपमा अघि बढाइने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य जाँच,हातहातमा सामाजिक सुरक्षा भत्ता दिने एमालेले प्रतिवद्धता जनाएको छ ।  एमालेले सहरीक्षेत्रमा कौशी खेतीलाई प्रोत्सान गर्ने नगरबासीसँग प्रतिवद्धता जनाएको छ । यसैगरी सुचना बैंक स्थापना गरेर सुचना प्रणालीलाई एकद्वार बनाइने एमालेले जनाएको छ ।  

प्रदेशकै गौरवको रूपमा रहेका काँक्रेविहार संरक्षण क्षेत्रलाई संम्बद्र्धन गर्दै प्रमुख पर्यटकीय विकास गर्न विज्ञहरूको राय सल्लाह अनुसार थप गतिविधिहरू सञ्चालन गरिने एमालेको प्रतिवद्धता पत्रममा उल्लेख  छ । नगरपालिका भित्रका सबै विद्यालयहरूमा विद्यार्थी संख्याअनुपात, विषयअनुपात अनुसार शिक्षक  दरबन्दीको व्यवस्था गरिने एमालेले जनाएको छ । नगरपालिकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा

अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी लालपूर्जा वितरण कार्य तीब्र रूपमा अघि बढाउने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ  । नगर क्षेत्रका औपचारिक र अनौपचारिक श्रमिकहरूको अनिवार्य सूचीकरण गरिने एमालेको प्रतिवद्धतामा उल्लेख छ । सहकारी क्षेत्रमा एमालेले सबभन्दा बढी ३७ वटा प्रतिवद्धताका शिर्षकहरु राखेको छ । जसमा वीरेन्द्रनगरद्वारा बनाइएका र बन्ने सबै ऐन नियमहरूलाई सहकारी मैत्री बनाइने छ उल्लेख गरिएको छ ।

प्रमुखका उम्मेद्वार ढकालले आफूलाई निर्वाचित गराएमा नगरबासीका अन्य आवश्यकता र सुझावहरुलाई समेत समेटेर नगरको भावी नीति कार्यक्रम र योजना बनाइने बताउनुभएको छ ।