अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति

प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति


काठमाडौँ – नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा उल्लेखनीय प्रगति गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो । 

विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कअनुसार छिमेकी मुलुक भारत १५० औँ स्थानमा झरेको छ । गतवर्ष भारत १४२ औँ स्थानमा थियो ।  पाकिस्तान पनि १५७ औँ स्थानमा झरेको छ । नर्वेसँगै डेनमार्क र स्वीडेन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छन् भने चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युवा र म्यान्मा अतिकम प्रेस स्वतन्त्रता भएका देशका रुपमा दरिएका छन् । इस्टोनिया, फिनल्याण्ड, आयरल्याड, पोर्चुगल, कोष्टारिका क्रमशः चौथो, पाँचौ, छैटौँ, सातौ र आठौँ भएका छन् । 

सूचकाङ्कले समाचार र सूचना अराजकताको विनाशकारी प्रभाव र भ्रामक समाचार एवं प्रचारलाई प्रोत्साहन गर्ने अनियमित ‘अनलाइन’ सूचनाको प्रभावलाई गम्भीर विषयका रुपमा प्रस्तुत गरेको छ ।

हरेक वर्ष मे ३ अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवसलाई सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मनाइने गरेको छ भने प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका विषयहरूमा सञ्चारकर्मीहरू पनि उत्तिकै गम्भीर र संवेदनशील हुनुपर्ने वास्तविकतालाई मार्गदर्शकका रुपमा लिइन्छ ।