काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्काल आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन्। उनले सडक यातायात सञ्चालनमा नेपालको क्षमताले नपुग्ने अवस्था आए अन्तर्राष्ट्रिय समुदायको सहयोग लिएर ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माण गर्न सुझाव दिए।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको उचित क्षतिपूर्ति प्राप्त हुने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा आवाज उठाउनुपर्ने धारणा पनि राखे। बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितहरूको अवस्था र ठूलो क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिए।

छलफलका क्रममा परराष्ट्रमन्त्री खनालसँग प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए। मन्त्रीद्वयले दसैंअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यका साथ दिनरात काम भइरहेको तथा बाढीप्रभावित नागरिकका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण कार्यलाई समेत तीव्र बनाइएको जानकारी राष्ट्रपतिलाई गराएका थिए।
उनीहरूले वैकल्पिक सडक निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको, लामो बेलिब्रिजका लागि मित्रराष्ट्रहरूसँग सहयोग मागिसकिएको र आवश्यक सामग्री आउने क्रममा रहेको जानकारी दिँदै अन्य पुनःस्थापना तथा पूर्वाधार योजनाहरू पनि कार्यान्वयनमा रहेको बताएका थिए।


प्रतिक्रिया