अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति

अध्यक्ष ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति


काठमाडौं-नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा प्रसारित भइरहेको भन्दै आपत्ति जनाएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरिएको जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत आचार्यले पार्टीले घटनालाई ‘अराजनीतिक, अनैतिक र आपराधिक’ क्रियाकलापको संज्ञा दिँदै त्यस्ता गतिविधिको घोर निन्दा एवं भर्त्सना गरेका छन् । यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिन्छौं – आचार्यले भनेका छन् ।

एमालेले प्रचलित विद्युतीय कारोबार ऐनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रचार प्रमुख आचार्यले डिजिटल प्रविधिको प्रयोगमार्फत नेतृत्वविरुद्ध भ्रम फैलाउने र अपमानजनक सामग्री प्रसारण गर्ने कार्यलाई गम्भीर रूपमा लिँदै दोषीमाथि प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।