काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री सुदन गुरुङले पुराना दलका नेताहरूप्रति दिएको चेतावनीपूर्ण अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्।
जेनजी दिवशको अवसरमा गृहमन्त्रीको सम्बोधनलाई लिएर अध्यक्ष ओलीले कटाक्ष गरेका हुन्। भक्तपुरको बालकोटस्थित गत वर्ष भदौ २४ गते आगजनी गरिएको घरको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीको अभिव्यक्तिप्रति व्यङ्ग्य गरे। उनले गृहमन्त्रीले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै आफूहरूले त्यसको प्रशंसा गर्नुपर्ने हो कि भन्ने प्रश्न गरे।

अध्यक्ष ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ। त्यही होइन र भन्या ?’ उनले भने, ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’
अध्यक्ष ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाले देशलाई ठूलो क्षति पुगेको दाबी गर्दै त्यसलाई देशका लागि ‘कालो दिन’को संज्ञा दिए। उनले नेपाल कम्तीमा २५ वर्ष पछाडि धकेलिएको बताए ।
‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ। अहिले रमाउनेहरू पनि कम्तीमा २५ वर्ष पछाडि परेका छन्। त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्,’ अध्यक्ष ओलीले भने।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी तथा तोडफोड भएको थियो।


प्रतिक्रिया