काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने र सामाजिक सञ्जालमार्फत साइबर बुलिङ गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिने कार्यकर्तामात्र पार्टीलाई आवश्यक रहेको स्पष्ट पारे।
सभापति लामिछानेले नागरिकको आक्रोश, पीडा र चित्कारलाई गलत ढंगले व्याख्या गर्ने तथा सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने प्रवृत्तिले पीडितमाथि थप अन्याय हुने बताए। उनले विपद्का बेला संवेदनशीलता, सहानुभूति र जिम्मेवारी प्रदर्शन गर्न सबैलाई आग्रह गरे।
उनले रास्वपाका कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपद्बाट प्रभावित नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिए। ‘विपद्मा परेका नागरिकमाथि अपमानजनक टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ,’ उनले भने।
सभापति लामिछानेले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई विपद्का बेला पीडितको आँसु पुछ्ने, राहत र पुनःस्थापनामा साथ दिने तथा मानवीय संवेदनालाई केन्द्रमा राखेर काम गर्न निर्देशनसमेत दिएका छन्।


प्रतिक्रिया